काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल गरेका छन्।
सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका हुन्।
राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु। सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै हाम्रो देशको पहिचान र परम्परा हो। यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु।'
घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रपति पौडेलले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबैलाई सचेत हुन पनि आग्रह गरेका छन्।
अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याइ नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने राष्ट्रपति पौडेलको विश्वास छ।