काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मन्त्रालयअन्तर्गत बाँकी रहेका सबै सेवालाई तत्काल अनलाइन प्रणालीमा रूपान्तरण गर्न तथा चालु आर्थिक वर्ष २०८३/८४ का कार्यक्रमलाई सुरुदेखि नै परिणाममुखी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएकी छन्।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले कम्पनी रजिष्ट्रार कार्यालय र उद्योग विभागका सेवा अनलाइनमा गइसकेको उल्लेख गर्दै बाँकी सेवासमेत छिट्टै डिजिटलीकरण गर्न आग्रह गरिन्। सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक प्रक्रिया अघि बढाउन उनले सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिइन्।
मन्त्री यादवले नयाँ सरकार गठनपछि पहिलो १०० दिनभित्र सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा मन्त्रालय र मातहतका निकायले देखाएको सक्रियताको प्रशंसा गर्दै गत आर्थिक वर्षका कमजोरीबाट पाठ सिकेर चालु वर्षका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताइन्। समयमै लक्ष्य हासिल गर्न सबै निकायले नतिजामुखी ढंगले काम गर्नुपर्नेमा उनले जोड दिइन्।
सुशासन सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री यादवले मन्त्रालय, विभाग र मातहतका कार्यालयमा इमान्दारिता, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता नगर्न निर्देशन दिइन्। चाडपर्व नजिकिँदै गएको भन्दै बजार अनुगमन प्रभावकारी बनाउन, उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र कालोबजारी नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न पनि उनले निर्देशन दिइन्।
औद्योगिक वातावरण सुधार, व्यापार विस्तार र मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीतिगत सहजीकरण गर्न आफू तयार रहेको बताउँदै उनले सबै निकायलाई समन्वय र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरिन्।
मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति, बजेट कार्यान्वयन, शासकीय सुधारका १०० बुँदे कार्यसूचीको प्रगति तथा चालु आर्थिक वर्षका कार्ययोजनाबारे समीक्षा गरिएको थियो। आगामी वर्षका लक्ष्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय, विभाग र मातहतका निकायबीच नियमित समन्वय तथा नतिजामुखी कार्यसम्पादनमा जोड दिइएको उनले बताए।