काठमाडौं- नेपाली उपभोक्ता सस्तो फिचर फोनबाट महँगा स्मार्टफोनतर्फ आकर्षित भएसँगै मोबाइल फोनको आयात बिल गएको एक दशकमा शतप्रतिशतले बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार २०७४/७५ मा करिब २५ अर्ब रुपैयाँको मोबाइल आयात भएकोमा आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा यो रकम ५० अर्ब रुपैयाँ पुगेको छ।
यही अवधिमा नेपाल भित्रिने मोबाइल सेटको संख्या भने घट्दै गएको छ। पहिले फिचर फोन र स्मार्टफोन दुवै ठूलो संख्यामा आयात हुने भएकाले युनिट धेरै भए पनि आयात बिल कम थियो। पछिल्ला वर्षमा भने उच्च मूल्यका स्मार्टफोनको प्रयोग तीव्र भएपछि कम संख्यामा फोन आयात हुँदा पनि कुल आयात खर्च उल्लेख्य बढेको देखिन्छ।
मोबाइलसँगै ल्यापटप, ट्याबलेट, डेस्कटप कम्प्युटर र क्यामेराको आयात पनि उल्लेख्य रूपमा विस्तार भएको छ।
गएको दशकमा ल्यापटपको आयात मूल्य करिब ५ अर्ब रुपैयाँबाट १२ अर्ब रुपैयाँ पुगेको छ। डेस्कटप कम्प्युटरको आयात १ अर्ब ७० करोड रुपैयाँबाट ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने क्यामेराको आयात पनि करिब १ अर्ब रुपैयाँबाट बढेर २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।

मोबाइलको औसत प्रतियुनिट आयात मूल्यमा भएको वृद्धिले पनि उपभोक्ताको रोजाइमा आएको परिवर्तन देखाउँछ। एक दशकअघि प्रतियुनिट औसत मूल्य करिब ३ हजार ८ सय ६० रुपैयाँ रहेकोमा अहिले १३ हजार ४ सय ६७ रुपैयाँ पुगेको छ। अर्थात् प्रतियुनिट मूल्य झन्डै साढे तीन गुणाले बढेको छ।
यसको मुख्य कारण नेपाली उपभोक्ताको फिचर फोनबाट स्मार्टफोनतर्फको संक्रमण हो। दशकअघि पाँच हजार रुपैयाँसम्मका फिचर फोनको प्रयोग व्यापक थियो। अहिले भने अधिकांश उपभोक्ताले तुलनात्मक रूपमा महँगा स्मार्टफोन प्रयोग गर्ने भएकाले आयात मूल्य स्वतः बढेको हो।
आयात बिल बढ्नुमा विनिमय दरको प्रभाव पनि उत्तिकै महत्त्वपूर्ण छ। २०७४/७५ मा अमेरिकी डलरको औसत विनिमय दर करिब १०४ रुपैयाँ रहेकोमा अहिले करिब १५० रुपैयाँ पुगेको छ। अर्थात् नेपाली रुपैयाँको अवमूल्यनका कारण एउटै मूल्यको उपकरण आयात गर्न पनि बढी रकम बाहिरिन थालेको छ।
विश्व बजारमै स्मार्टफोनको मूल्य पछिल्ला वर्षमा बढ्दो छ। विशेषगरी एआई सुविधायुक्त नयाँ मोडल, उच्च क्षमताका चिप, महँगा कम्पोनेन्ट र आपूर्ति शृंखलाको लागत बढेका कारण अन्तर्राष्ट्रिय बजारमा पनि स्मार्टफोन महँगिँदै गएका छन्। एप्पल, सामसङलगायत प्रमुख कम्पनीले आफ्ना प्रिमियम मोडलको मूल्य क्रमशः बढाउँदै लगेका छन्।
ल्यापटप तथा अन्य डिजिटल उपकरणको आयात बढ्नुका पछाडि पनि उपभोगको दायरा विस्तार हुनु प्रमुख कारण हो। सूचना प्रविधिको बढ्दो प्रयोग, घर तथा कार्यालयबाट हुने डिजिटल काम, अनलाइन शिक्षा र कन्टेन्ट क्रिएसनको विस्तारले यी उपकरणको माग बढाएको देखिन्छ।
नेपालमा प्रयोग हुने सबै स्मार्टफोन भने भन्सारको आयात तथ्यांकमा समेटिएका छैनन्। भारत तथा वैदेशिक रोजगारीबाट फर्कने नेपालीले व्यक्तिगत प्रयोगका लागि ल्याउने फोनको संख्या पनि ठूलो छ।
उद्योगसँग सम्बन्धित जानकारहरूका अनुसार हरेक वर्ष करिब १० देखि १५ लाख युनिट स्मार्टफोन यसरी नेपाल भित्रिन्छन्। त्यसको मूल्यसमेत जोड्ने हो भने नेपालमा वार्षिक स्मार्टफोन बजारको आकार करिब एक खर्ब रुपैयाँ हाराहारी पुग्ने अनुमान छ।
आगामी वर्षहरूमा मोबाइल तथा अन्य डिजिटल उपकरणको आयात खर्च अझ बढ्ने संकेत देखिएको छ। नेपाली रुपैयाँको निरन्तर अवमूल्यन, एआई प्रविधि समेटिएका महँगा उपकरणको माग र विश्वव्यापी उत्पादन लागत वृद्धिका कारण डिजिटल उपकरणको मूल्यमा थप दबाब पर्ने सम्भावना रहेको छ।