बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

१५ अर्ब रुपैयाँको निजी लगानीमा बन्दैछ ७० मेगावाट क्षमताको दूधकोशी-२ आयोजना

शुक्रबार, साउन १५ २०८३
१५ अर्ब रुपैयाँको निजी लगानीमा बन्दैछ ७० मेगावाट क्षमताको दूधकोशी-२ आयोजना

काठमाडौं- निजी क्षेत्रको लगानीमा निर्माणाधीन ७० मेगावाट क्षमताको दूधकोशी-२ (जलेश्वर) जलविद्युत् आयोजना विकास गरिरहेको दूधकोशी हाइड्रोपावर नेपाल प्रालि (डीएचएनपीएल) लाई १० अर्ब ८१ करोड २० लाख रुपैयाँबराबरको बैंक सुविधाको रेटिङ इन्फोमेरिक्स क्रेडिट रेटिङले दिएको छ।

कम्पनीको १० अर्ब ५० करोड रुपैयाँबराबरको दीर्घकालीन बैंक सुविधालाई आईआरएन बी प्लस र ३१ करोड २० लाख रुपैयाँबराबरको अल्पकालीन बैंक सुविधालाई आईआरएन ए-४ रेटिङ प्रदान गरिएको हो।

सोलुखुम्बु जिल्लामा निर्माण भइरहेको यो आयोजना करिब १५ अर्ब रुपैयाँको निजी लगानीमा निर्माण भइरहेको हो। आयोजनाको वित्तीय संरचनाअनुसार १० अर्ब ५० करोड रुपैयाँ (७० प्रतिशत) बैंक ऋण र ४ अर्ब ५० करोड रुपैयाँ (३० प्रतिशत) स्वपुँजीबाट लगानी जुटाइँदै छ। प्रतिमेगावाट लागत करिब २१ करोड ४३ लाख रुपैयाँ रहेको छ।

दूधकोशी हाइड्रोपावर नेपाल प्रालिको प्रमुख प्रवर्द्धक आयु मालुन हाइड्रोपावर लिमिटेड हो। कम्पनीको सञ्चालक समितिको नेतृत्व कदम केसीले गरिरहेका छन्। उनी जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएका व्यवसायी हुन्।

केसी हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालि, आयु मालुन हाइड्रोपावर लिमिटेड, पुवा खोला वन हाइड्रोपावर लिमिटेड लगायतका कम्पनीमा पनि आबद्ध छन्। कम्पनीमा अन्य अनुभवी नेपाली लगानीकर्ता तथा व्यवस्थापन टोलीको समेत संलग्नता रहेको इन्फोमेरिक्सले उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार कम्पनी सुरुमा भारतीय कम्पनी दूधकोशी हाइड्रोपावर प्रालि (भारत) को प्रवर्द्धनमा अघि बढ्ने योजना थियो। तर भारतीय रिजर्भ बैंक (आरबीआई) बाट विदेशी प्रत्यक्ष लगानी (एफडीआई) सम्बन्धी स्वीकृतिमा आएको नियामकीय जटिलतापछि भारतीय प्रवर्द्धकले आफ्नो सम्पूर्ण स्वामित्व नेपाली लगानीकर्तालाई हस्तान्तरण गरेका थिए। त्यसपछि आयोजना पूर्णरूपमा नेपाली निजी क्षेत्रको लगानीमा अघि बढिरहेको छ।

इन्फोमेरिक्सका अनुसार कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग सन् २०२१ नोभेम्बर २२ मा ३० वर्षे विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ। सम्झौताअनुसार वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा तथा सुक्खायाममा ८ रुपैयाँ ४० पैसा दरमा विद्युत् बिक्री हुनेछ। सुक्खायाममा दैनिक अधिकतम ६ घण्टासम्म पीक समयमा प्रतियुनिट ८ रुपैयाँ ५० पैसादेखि १० रुपैयाँ ५५ पैसा सम्म दर प्राप्त हुने व्यवस्था छ। पहिलो आठ वर्षसम्म हरेक वर्ष ३ प्रतिशतका दरले ट्यारिफ वृद्धि हुने प्रावधान पनि रहेको छ।

दूधकोशी-२ आयोजना पोन्डेज रनअफरिभर (पीआरओआर) प्रकृतिको हो। यसले सुक्खायाममा केही समयका लागि पानी सञ्चित गरेर उच्च माग हुने समयमा विद्युत् उत्पादन गर्न सक्ने भएकाले सामान्य रनअफरिभर आयोजनाको तुलनामा राम्रो आम्दानी गर्ने क्षमता राख्ने इन्फोमेरिक्सको विश्लेषण छ।

यद्यपि आयोजनाको निर्माण प्रगति अझै प्रारम्भिक चरणमै रहेको छ। सन् २०२६ जुलाई १३ सम्म वित्तीय प्रगति ५.१७ प्रतिशत मात्रै पुगेको छ। कम्पनीले सन् २०२५ सेप्टेम्बर २१ मा ऋण व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न गरिसकेको छ भने सन् २०२५ डिसेम्बर ८ सम्म प्रवर्द्धकहरूले ५६ करोड ३० लाख रुपैयाँ स्वपुँजी लगानी गरिसकेका छन्, जुन कुल स्वपुँजीको करिब १३ प्रतिशत हो।

आयोजनाको आवश्यक व्यावसायिक सञ्चालन मिति (आरसीओडी) सन् २०२६ जुलाई ३० तोकिएको भए पनि कम्पनीले सन् २०२८ जुलाई १६ बाट मात्रै व्यावसायिक उत्पादन सुरु हुने अपेक्षा गरेको छ। यसका कारण दुई चरणको ट्यारिफ वृद्धि गुम्ने, राजस्व अवधि छोटिने तथा आरसीओडी अवधि थप नभए नेपाल विद्युत् प्राधिकरणलाई जरिवाना तिर्नुपर्ने जोखिम रहेको इन्फोमेरिक्सले जनाएको छ।

आयोजनाले दूधकोशी नदीको २ हजार ६१४.७७ वर्ग किलोमिटर जलाधार क्षेत्रबाट ६२.३० घनमिटर प्रति सेकेन्ड डिजाइन बहाव उपयोग गर्नेछ। उत्पादित विद्युत् १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको टिङ्ला सबस्टेसनमा जोडिनेछ।


प्रकाशित : शुक्रबार, साउन १५ २०८३११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend