काठमाडौं- चार लघु निर्जीवन बीमा (माइक्रो इन्स्योरेन्स) कम्पनीहरूले असार मसान्तसम्ममा १ अर्ब ३९ करोड ९३ लाख रूपैयाँ प्रिमियम संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा बीमकहरूले कुल ५ लाख ९ सय ७२ वटा बीमालेख जारी गरेका छन्। असार महिनामा मात्रै लघु बीमकहरूले ४५ हजार ३६० वटा बीमालेखमार्फत १२ करोड २३ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
सञ्चालनमा रहेका चार लघु बीमकहरूमध्ये स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारमा सर्वाधिक व्यवसाय गरेको छ। असार मसान्तसम्ममा स्टार माइक्रोले १ लाख ३९ हजार ७१ वटा बीमालेख जारी गर्दै ३९ करोड ८१ लाख रूपैयाँ प्रिमियम संकलन गरेको छ। कम्पनीले असार महिनामा मात्रै १३ हजार १ सय ६ वटा बीमालेखबाट ३ करोड २७ लाख रूपैयाँ बीमा शुल्क उठाउएको छ।
दोस्रोमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले असार मसान्तसम्म १ लाख ४३ हजार ६ सय ८१ वटा बीमालेखमार्फत ३७ करोड ५२ लाख रूपैयाँ कुल व्यवसाय गरेको छ। कम्पनीले असार महिनामा १२ हजार २ सय ५७ वटा बीमालेख बिक्री गरेको छ। जसबाट ३ करोड ४५ लाख रूपैयाँ प्रिमियम संकलन गरेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले असार मसान्तसम्म १ लाख २० हजार २१३ वटा बीमालेख जारी गरी ३२ करोड ५२ लाख रूपैयाँ कुल बीमा शुल्क उठाएको छ। कम्पनीले असार महिनामा २ करोड ७८ लाख रूपैयाँ प्रिमियम संकलन गरेको छ।
ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले असार मसान्तसम्म ३० करोड ७ लाख रूपैयाँ कुल प्रिमियम संकलन गरेको छ। कम्पनीले असार महिनामा मात्रै २ करोड ७१ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ।