काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरुले सुनसरी घटनालाई सहजरुपमा समाधान गरी समाजमा सद्भाव कायम राख्नका लागि सम्बद्ध सबैले आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
उनीहरुले सामाजिक सद्भाव र शान्ति-सुव्यवस्था कायम गर्नका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै त्यसमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गरे।
यसैगरी, उनीहरूले मुलुकभर वर्षासहित आएको बाढीपहिरो र डुबानबाट प्रभावित नागरिकको व्यवस्थापनसहित क्षतिपूर्तिको प्रबन्ध गर्न, किसानलाई समयमै रासायनिक मल र बीउबिजनको व्यवस्था गर्न, बाँदर व्यवस्थापन गर्न र देशभर अवरुद्ध सडक यथाशक्य छिटो खोली यातायात सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरे।
शून्य समयमा सांसदहरू कवीन्द्र बुर्लाकोटी, अप्साना बानु, अम्बिकादेवी संग्रौला, अर्जुनकुमार कार्की, अर्जुननरसिंह केसी, आशिका तामाङ, इन्दिरा रानामगर, एजिला गुरुङ, यशुदाकुमारी बराल, अंकिता ठाकुर, कमल सुवेदी, करिश्मा कठरियालगायतले धारणा राखेका थिए। रासस