काठमाडौं- टाटा मोटर्सको विद्युतीय एसयूभी 'टाटा पन्च ईभी' नेपाली बजारमा लोकप्रिय मध्येको एक विद्युतीय एसयूभी हो। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ पन्च ईभी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गर्ने तयारी गरेको छ।
यो नयाँ मोडल आकर्षक डिजाइन परिवर्तन, स्तरोन्नति गरिएका विशेषता र अझ बढी रेन्ज, पर्फर्मेन्स तथा समग्र दक्षता बढाउनेगरी ठूलो ब्याट्री प्याकमा तयार भएको नयाँ पन्च ईभी काठमाडौं आइपुगेको छ। भारतमा केही महिनाअघि सार्वजनिक भएको टाटाको नयाँ पन्च ईभी अब नेपाली उपभोक्ताले पनि खरिद गर्न पाउने भएका छन्।
नयाँ पन्च ईभी ४० किलोवाट आवरको ब्याट्री प्याकमा आउने छ। यसअघि पन्च ३५ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध थियो। यो नयाँ ब्याट्रीलाई फ्रन्ट-माउन्टेड सिंगल इलेक्ट्रिक मोटरसँग जोडिएको छ। ४० किलोवाट आवरको ब्याट्रीयुक्त पन्चले १ सय २९ एचपी पावर र १ सय ५४ एनएम टर्क उत्पन्न गर्छ।
नयाँ पन्चको एआरआएई प्रमाणित रेन्ज ४ सय ६८ किलोमिटर भएपनि टाटाका अनुसार यसको वास्तविक (सी७५) रेन्ज ३ सय ५० किलोमिटर रहेको छ। यो रेन्जयुक्त पन्च ईभी दैनिक प्रयोगका साथै लामो यात्राका लागि अझ व्यावहारिक बनाउने कम्पनीको भनाइ छ।
नयाँ पन्च ईभीले ९ सेकेन्डभन्दा कम समयमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति तय गर्नसक्छ। यो विद्युतीय एसयूभीमा ३२ प्रतिशतको 'रिस्टार्ट ग्रेडबिलिटी' रहेकाले यसले ठाडो उकालाहरू सहजै पार गर्न सक्ने क्षमता रहेको छ।
यसमा सिटी, इको र स्पोर्ट्स गरी तीन वटा ड्राइभ मोडहरूका साथै चार स्तरको 'रिजेनेरेटिभ ब्रेकिङ' उपलब्ध छ, जसलाई स्टेरिङमा रहेको प्याडल सिफ्टरमार्फत नै मिलाउन सकिन्छ। नयाँ पन्चको चार्जिङ क्षमतामा पनि सुधार गरिएको छ। ६५ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गर्दा नयाँ पन्च ईभीलाई २० देखि ८० प्रतिशतसम्म चार्ज २६ मिनेटमै गर्न सकिने कम्पनीले जनाएको छ।
टाटाका अनुसार १५ मिनेट चार्ज गर्दा १ सय ३५ किमीसम्मको रेन्ज थप्न सकिन्छ। नयाँ ब्याट्री र पावरट्रेन प्रणालीमा पार्टपुर्जाहरूको सङ्ख्या घटाइएको, वायरिङ सरल बनाइएको र उत्कृष्ट थर्मल म्यानेजमेन्ट गरिएकाले यसको समग्र दक्षतामा वृद्धि भएको टाटा मोटर्सले जनाएको छ।
नयाँ पन्च ईभीमा नयाँ आईसीई पन्चबाट प्रेरित सफा र आधुनिक डिजाइन रहेको छ। जसमा पुनः डिजाइन गरिएको फ्रन्ट बम्पर, बन्द ग्रिल, नयाँ १६-इन्चको अलोय ह्वील, नयाँ रङका विकल्पहरू र कनेक्टेड एलईडी टेल ल्याम्पहरू उपलब्ध छन्।
पन्च ईभीमा १ सय ९५ एमएमको ग्राउन्ड क्लियरेन्स र ४ सय ५० एमएमको वाटर-वेडिङ (पानीमा हिँड्न सक्ने) क्षमता रहेको छ। भित्री क्याबिनमा नयाँ ट्रिमहरू थपिएका छन् भने माथिल्लो भेरियन्टहरूमा १०.२५-इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२५-इन्चकै डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ।
भेरियन्ट अनुसार यसमा वायरलेस चार्जिङ, भेन्टिलेटेड फ्रन्ट सिट, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार प्रविधि र ३६०-डिग्री क्यामेरा जस्ता विशेषता उपलब्ध छन्। सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल-होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, हाइ बिम असिस्ट र आईएसओफिक्स चाइल्ड-सिट माउन्ट रहेका छन्।
ठूलो ब्याट्री, तीव्र चार्जिङ क्षमता, नयाँ लुक र आधुनिक प्रविधिका साथ आउन लागेको नयाँ टाटा पन्च ईभीले नेपालमा टाटा मोटर्सको विद्युतीय कार बजारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा यो मोडल आधिकारिक रूपमा सार्वजनिक हुनेछ। सोही समयमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीले यसको मूल्य र उपलब्धतासम्बन्धी विवरणहरू सार्वजनिक गर्नेछ।