काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउँदै आन्तरिक विद्युत् खपत बढाउने उद्देश्यका साथ महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। यसका लागि प्राधिकरण सञ्चालक समितिले १५ दिनभित्र नयाँ प्रस्ताव तयार गर्ने जिम्मेवारीसहित समिति गठन गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ दर प्रस्ताव तयार गर्न निर्णय गरेको हो। समितिले बुझाउने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत् नियमन आयोगसमक्ष प्रस्ताव पठाइनेछ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पछिल्ला वर्षमा जलविद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी वर्षायाममा उत्पादन भएको विद्युत् पूर्ण रूपमा आन्तरिक रूपमा खपत हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै विद्युत् उपयोग बढाउने नीति आवश्यक देखिएको उनले बताए। यही उद्देश्यअनुसार घरायसी उपभोक्ता र उत्पादनमूलक उद्योगलाई लक्षित गरी नयाँ महसुल संरचना तयार गर्न लागिएको हो।
प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा बढी विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। यसबाट उपभोक्ताको मासिक विद्युत् खर्च घट्नुका साथै उद्योगहरूको उत्पादन लागत पनि कम हुने अपेक्षा गरिएको छ।
महसुल पुनरावलोकन समितिको संयोजकमा सञ्चालक समिति सदस्य अंशुकिरण शाही रहेका छन्। समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा तथा वित्त क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।
यसैबीच सञ्चालक समितिले विगतका खरिद प्रक्रिया तथा सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी र गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ।
सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा गठित उक्त समितिमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य–सचिव रहनेछन्।
छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा प्राप्त उजुरीहरूको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।