बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसदमा पेस गर्न स्वीकृति

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १३ २०८३
मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसदमा पेस गर्न स्वीकृति

बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ।

काठमाडौं- सरकारले विभिन्न नौ वटा विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ।
    
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो।
    
साथै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, बालश्रम (निषेध तथा नियमित गर्ने)सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चयकोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ।
    
उक्त बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ।

त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाल (सिन्धुली)लाई मनोनयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
    
मन्त्रिपरिषद्को आजको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको छ।


प्रकाशित : बुधबार, साउन १३ २०८३१७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend