बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

जापानी बजारमा गोल्डस्टारको ऐतिहासिक विस्तार, गोल्डस्टार स्ट्राइड र गोल्डस्टार जापानबीच रणनीतिक साझेदारी

बुधबार, साउन १३ २०८३
जापानी बजारमा गोल्डस्टारको ऐतिहासिक विस्तार, गोल्डस्टार स्ट्राइड र गोल्डस्टार जापानबीच रणनीतिक साझेदारी

नेपालको अग्रणी जुत्ता उत्पादक कम्पनी गोल्डस्टार स्ट्राइड लिमिटेड र जापानमा स्थापित गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्डको दीर्घकालीन विस्तार, बजार व्यवस्थापन तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि रणनीतिक साझेदारी भएको छ।

काठमाडौं- नेपालको अग्रणी जुत्ता उत्पादक कम्पनी गोल्डस्टार स्ट्राइड लिमिटेड र जापानमा स्थापित गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्डको दीर्घकालीन विस्तार, बजार व्यवस्थापन तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि रणनीतिक साझेदारी भएको छ।

यससम्बन्धी सम्झौतापत्रमा गोल्डस्टार स्ट्राइड लिमिटेडका अध्यक्ष अमिर प्रताप ज .ब .राणा र गोल्डस्टार जापान कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कावाशिमा मिजुकीले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा गोल्डस्टार जापान कम्पनी लिमिटेडका निर्देशक कोबायाशी काजुयुकीसहित दुवै कम्पनीका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार यस रणनीतिक साझेदारीमार्फत जापानी बजारको आवश्यकताअनुसार उच्च गुणस्तरका जुत्ता उत्पादन, ब्रान्ड विकास, आधिकारिक वितरण प्रणाली, बजार विस्तार, ग्राहक सेवा तथा दीर्घकालीन व्यापारिक सहकार्यलाई थप संस्थागत र प्रभावकारी बनाइनेछ। यसले जापानमा गोल्डस्टारलाई विश्वसनीय, प्रतिस्पर्धी तथा दीर्घकालीन अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

दशकौँदेखि नेपालको औद्योगिक क्षेत्रमा सक्रिय गोल्डस्टार स्ट्राइड लिमिटेडले हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ। गुणस्तर, नवीनता, दिगोपन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतालाई प्राथमिकतामा राख्दै कम्पनीले ‘नेपालमा निर्मित’ उत्पादनलाई विश्व बजारमा प्रतिष्ठित र विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ।

सम्झौतापछि अध्यक्ष अमिर राणाले गोल्डस्टार केवल जुत्ताको ब्रान्ड मात्र नभई नेपाली उद्योग, नेपाली श्रम, नेपाली सीप, गुणस्तर र आत्मविश्वासको प्रतिनिधित्व गर्ने राष्ट्रिय पहिचान भएको बताए। उनले जापानसँगको रणनीतिक साझेदारीले अन्तर्राष्ट्रिय बजारमा कम्पनीको उपस्थितिलाई अझ सुदृढ बनाउँदै नेपाली उत्पादनलाई विश्वव्यापी प्रतिस्पर्धाको नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी, गोल्डस्टार जापान कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कावाशिमा मिजुकीले जापानी उपभोक्ताले गुणस्तर, विश्वास र दीर्घकालीन मूल्यलाई उच्च प्राथमिकता दिने उल्लेख गर्दै यस सहकार्यमार्फत जापानी बजारमा उत्कृष्ट गुणस्तरका उत्पादन उपलब्ध गराउनुका साथै नेपाल र जापानबीचको व्यावसायिक सम्बन्धलाई अझ सुदृढ र दीर्घकालीन बनाइने बताए।

गोल्डस्टार जापान कम्पनी लिमिटेडका निर्देशक कोबायाशी काजुयुकीले यस साझेदारीलाई नेपाल र जापानबीचको आर्थिक तथा औद्योगिक सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण अवसरको रूपमा व्याख्या गर्दै भविष्यमा उत्पादन विविधीकरण, बजार विस्तार, प्रविधि आदान–प्रदान तथा दिगो व्यापारिक सहकार्यलाई अझ व्यापक बनाइने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार यो रणनीतिक साझेदारीले नेपाल र जापानबीचको निजी क्षेत्रीय सहकार्यलाई नयाँ आयाम दिनेछ। साथै नेपालको निर्यात प्रवर्द्धन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण तथा राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। यसबाट अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनप्रतिको विश्वास अभिवृद्धि भई नेपाल गुणस्तरीय उत्पादनको विश्वसनीय स्रोतका रूपमा स्थापित हुने कम्पनीको विश्वास छ।

‘नेपालमा निर्मित, विश्वभर विश्वास प्राप्त’ भन्ने दीर्घकालीन दृष्टिकोणलाई आत्मसात् गर्दै गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडले नेपाली उत्पादनलाई विश्व बजारमा अझ प्रतिष्ठित, प्रतिस्पर्धी र विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्। कम्पनीका अनुसार यो साझेदारी केवल दुई कम्पनीबीचको व्यावसायिक सहकार्य मात्र नभई नेपाल र जापानबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपाली उद्योगको अन्तर्राष्ट्रिय विस्तारलाई नयाँ गति दिने तथा विश्व बजारमा नेपालको उत्पादन क्षमताको नयाँ परिचय स्थापित गर्ने दिशामा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ।


प्रकाशित : बुधबार, साउन १३ २०८३११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend