काठमाडौं- कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धित महर्षि कलेजबीच नेपालभर कृत्रिम बौद्धिकता (एआई) शिक्षा र उदीयमान प्रविधिसम्बन्धी सीप विकास कार्यक्रम सञ्चालन गर्न पाँच वर्षे रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारीअनुसार सातै प्रदेशका युवालाई लक्षित गरी एआई, कोडिङ, नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिनेछ। साथै कोडिङ बुटक्याम्प, एआई केन्द्रित ह्याकाथन, इनोभेसन च्यालेन्ज, स्टार्टअप इन्क्युबेसन कार्यक्रम तथा शिक्षक क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्ने योजना रहेको क्यान महासंघले जनाएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सहकार्यमार्फत शैक्षिक सिकाइलाई सूचना प्रविधि उद्योगसँग जोड्दै विद्यार्थीलाई व्यावहारिक सीप र रोजगारीमुखी अवसर उपलब्ध गराउने लक्ष्य राखिएको दुवै संस्थाले बताएका छन्।
क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीले नेपाली युवालाई एआईको प्रयोगकर्तामात्र नभई यसको विकास र नवप्रवर्तनमा सहभागी बनाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताए। सातै प्रदेशमा कार्यक्रम विस्तार गरेर प्रविधि क्षेत्रमा अवसरको पहुँच बढाइने उनको भनाइ छ।
महर्षि कलेजका प्रिन्सिपल आचार्यले शैक्षिक अध्ययन र उद्योगको अनुभवबीचको दूरी घटाउँदै प्रविधि क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहकार्य केन्द्रित हुने बताए।
हस्ताक्षर समारोहमा क्यान महासंघका उपाध्यक्ष सुवास खड्का, केन्द्रीय सदस्य तथा शिक्षा समितिका सहसंयोजक ओंकार बस्नेतलगायत शिक्षा तथा सूचना प्रविधि क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो।
विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता र डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला नेपाली युवालाई आवश्यक सीप प्रदान गरी डिजिटल अर्थतन्त्रका लागि सक्षम जनशक्ति तयार पार्ने उद्देश्यले यो साझेदारी गरिएको क्यान महासंघले जनाएको छ।