बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

१२ अर्ब ६४ करोड रुपैयाँ निजी लगानीमा १० सौर्य आयोजना निर्माण हुँदै, १७०.५ मेगावाट विद्युत उत्पादन हुने

बुधबार, साउन १३ २०८३
१२ अर्ब ६४ करोड रुपैयाँ निजी लगानीमा १० सौर्य आयोजना निर्माण हुँदै, १७०.५ मेगावाट विद्युत उत्पादन हुने

विद्युत् उत्पादनको स्रोत विविधीकरण गर्न, राष्ट्रिय प्रसारण प्रणालीमा थप ऊर्जा उपलब्ध गराउन तथा स्वच्छ ऊर्जाको हिस्सा बढाउन सरकारले पनि सौर्य परियोजनालाई प्राथमिकतामा राख्दै आएको छ।

काठमाडौं- नेपालमा नवीकरणीय ऊर्जा उत्पादन विस्तार गर्ने उद्देश्यका साथ निजी क्षेत्रले १२ अर्ब ६४ करोड ९ लाख २ हजार रुपैयाँ लगानीमा १० वटा सौर्य विद्युत आयोजना अघि बढाएको छ।

उद्योग विभागबाट स्वीकृत भएका यी आयोजनामाबाट कुल १७०.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। निर्माण तथा सञ्चालनका क्रममा २ सय ४१ जनाले प्रत्यक्ष रोजगारी पाउने छन्।

प्रस्तावित १० आयोजनामध्ये तीनवटा आयोजना ३०/३० मेगावाट, दुई वटा आयोजना २०/२० मेगावाट, चार वटा आयोजना १०/१० मेगावाट र एउटा आयोजना ९.५ मेगावाट क्षमताका छन्। यी सबै आयोजना सञ्चालनमा आएपछि नेपालमा एकैपटक १७०.५ मेगावाट सौर्य विद्युत् राष्ट्रिय प्रणालीमा थपिनेछ।

जलविद्युतमा केन्द्रित रहेको नेपालको ऊर्जा प्रणालीमा पछिल्ला वर्षहरूमा सौर्य ऊर्जाको आकर्षण बढ्दै गएको छ।

विशेषगरी सुक्खायाममा नदीको बहाव घट्दा जलविद्युत उत्पादन कम हुने अवस्थालाई मध्यनजर गर्दै निजी क्षेत्रले सौर्य आयोजनामा लगानी विस्तार गरिरहेको छ।

विद्युत् उत्पादनको स्रोत विविधीकरण गर्न, राष्ट्रिय प्रसारण प्रणालीमा थप ऊर्जा उपलब्ध गराउन तथा स्वच्छ ऊर्जाको हिस्सा बढाउन सरकारले पनि सौर्य परियोजनालाई प्राथमिकतामा राख्दै आएको छ।

लगानीका आधारमा सबैभन्दा ठूलो आयोजना बाँकेको बैजनाथ गाउँपालिका-७ मा निर्माण हुने सोल पावर लिमिटेड न्यू नेपालगञ्जको हुनेछ। ३० मेगावाट क्षमताको उक्त आयोजनामा २ अर्ब ९ करोड ४२ लाख रुपैयाँ लगानी हुनेछ। आयोजना निर्माण सम्पन्न भएपछि १९ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।

३० मेगावाट क्षमताकै अर्को आयोजना कपिलवस्तुको शिवराज नगरपालिका–८ मा प्राइम पावर लिमिटेडले निर्माण गर्नेछ। यस आयोजनामा १ अर्ब ८२ करोड ६९ लाख रुपैयाँ लगानी हुने भएको छ भने २० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।

धनुषाको मिथिला नगरपालिका-८ मा इन्टीग्रेटेड इनर्जी एण्ड इन्डस्ट्रियल इन्टरप्राइजेजले पनि ३० मेगावाट क्षमताको सौर्य आयोजना निर्माण गर्नेछ। यसका लागि १ अर्ब ८२ करोड ५४ लाख रुपैयाँ लगानी हुने भएको छ। आयोजनाले १७ जनालाई प्रत्यक्ष रोजगारी दिनेछ।

२० मेगावाट क्षमताका दुई आयोजना पनि निर्माण हुने भएका छन्। सुनसरीको बर्जु गाउँपालिका-४ मा पशुपति इनर्जी प्रालिले १ अर्ब ६० करोड रुपैयाँ लगानीमा सौर्य आयोजना निर्माण गर्नेछ। यसबाट २० जनाले रोजगारी पाउने छन्।

महोत्तरीको बर्दिबास नगरपालिका-६ मा टेरा सोल इनर्जी कम्पनी लिमिटेडले १ अर्ब ४२ करोड २७ लाख रुपैयाँ लगानीमा २० मेगावाट क्षमताको आयोजना निर्माण गर्नेछ, जसबाट ४० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन्। रोजगारीका हिसाबले यो सबैभन्दा ठूलो आयोजना हुनेछ।

सर्लाहीको लालबन्दी नगरपालिकामा दुईवटा सौर्य आयोजना निर्माण हुने भएका छन्। वडा नम्बर १ मा हेलियो स्पार्क इनर्जी प्रालिले ५८ करोड १७ लाख रुपैयाँ लगानीमा १० मेगावाट क्षमताको आयोजना निर्माण गर्नेछ। यस आयोजनाले ३० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउनेछ।

लालबन्दी-२ मा मिथिला सोलार इनर्जीले १ अर्ब ३० करोड ७४ लाख रुपैयाँ लगानीमा १० मेगावाट क्षमताको आयोजना निर्माण गर्नेछ। यस आयोजनाबाट ११ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-१३ मा कालिका सन लाइट पावर प्रालिले ७० करोड १ लाख २२ हजार रुपैयाँ लगानीमा १० मेगावाट क्षमताको आयोजना निर्माण गर्नेछ। उक्त आयोजनाबाट २७ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।

सिराहाको लहान नगरपालिका-२० मा हेलियो स्पार्क इनर्जी प्रालिले ५८ करोड २३ लाख ४० हजार रुपैयाँ लगानीमा १० मेगावाट क्षमताको आयोजना निर्माण गर्नेछ। यसबाट ३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन्।

मोरङको विराटनगर महानगरपालिका-३ मा कुशल प्रोजेक्ट्स नेपाल प्रालिले ९.५ मेगावाट क्षमताको सौर्य आयोजना निर्माण गर्नेछ। यसमा ७० करोड १ लाख रुपैयाँ लगानी हुनेछ भने २७ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।

solar 11.png


प्रकाशित : बुधबार, साउन १३ २०८३१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend