काठमाडौं- अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। मन्त्रालयले गठन गरेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गरेर नयाँ योग्यता निर्धारण गर्दै आवेदन मागेको छ।
समितिले निर्धारण गरेको योग्यता भने अघिल्लोपटकको भन्दा फरक रहेको छ। सीईओ पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य, अर्थशास्त्र, वित्त, व्यवसाय प्रशासन, कानून वा सोसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै व्यवस्थापन तहमा कम्तीमा सात वर्षसहित सम्बन्धित क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव आवश्यक पर्ने सूचनामा उल्लेख छ।
व्यवस्थापकीय तहको परिभाषामा भने एउटा व्यवस्था फरक पारिएको छ। यसअघि नेपाल सरकारको अधिकृतस्तरको कम्तिमा प्रथम श्रेणी (सहसचिव) भनिएकोमा यसपालि भने द्वितीय श्रेणीको (उपसचिव) भनेर मागिएको छ।
'धितोपत्र बजार सञ्चालन नियमावली २०६४' मा पनि धितोपत्र बजार सञ्चालकको कार्यकारी प्रमुखको योग्ता निर्धारण गरिएको छ। नियमावलीको नियम १६ मा कम्तीमा सरकारको अधिकृतस्तरको प्रथम श्रेणी नै हुनुपर्ने उल्लेख छ।
अर्थ मन्त्रालयका अधिकारीहरू भने यो नियमावलीले नै अहिले नेप्सेको सवालमा त्यो योग्यता लागु नहुने तर्क गर्छन्। त्यही भएर छनौट समितिले बनाएको कार्यविधिमा जुन योग्यता हुन्छ त्यही कार्यान्वयन हुने उनीहरूको भनाइ छ।
नियमावलीको नियम २१ मा नेपाल सरकारको स्वामित्व भएको बजार सञ्चालकको हकमा यो योग्यता लागु नहुने व्यवस्था गरिएको छ। यही व्यवस्था देखाएर योग्यता फेरबदल गरिएको उनीहरू बताउँछन्।