मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

बन्द सरकारी उद्योग सञ्चालनमा रुसको साथ खोज्दै सरकार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १२ २०८३
बन्द सरकारी उद्योग सञ्चालनमा रुसको साथ खोज्दै सरकार

राजदूत सुरोभ्त्सेभले दुई देशबीच व्यापार तथा आर्थिक फोरममार्फत भइरहेको सहकार्यलाई अझ प्रभावकारी बनाउन नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

काठमाडौं- सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालनका लागि रुससँग प्राविधिक तथा आवश्यक सहयोगको प्रस्ताव गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले मंगलबार नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभसँग भएको भेटवार्तामा विशेषगरी हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि सहकार्य गर्न आग्रह गरेकी हुन्।

मन्त्रालयका अनुसार मन्त्री यादवले सरकारी स्वामित्वका उद्योग पुनर्जीवित गर्न रुसको प्राविधिक अनुभव तथा सहयोग उपयोगी हुने बताएकी थिइन्। उनले बन्द उद्योग सञ्चालनमा आवश्यक सहयोगका लागि रुस सरकारसँग सहकार्य गर्न प्रस्ताव राखिन्।

मन्त्रीको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै राजदूत सुरोभ्त्सेभले नेपालले उठाएका प्रस्तावका विषयमा रुस सरकारसँग आवश्यक समन्वय गरी सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटका क्रममा नेपाल–रुसबीचको व्यापार तथा आर्थिक सम्बन्ध विस्तार, व्यापार सहजीकरण र औद्योगिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। राजदूत सुरोभ्त्सेभले दुई देशबीच व्यापार तथा आर्थिक फोरममार्फत भइरहेको सहकार्यलाई अझ प्रभावकारी बनाउन नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

‍सोही अवसरमा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकास मन्त्रीका तर्फबाट मन्त्री यादवलाई रुस भ्रमणका लागि औपचारिक निमन्त्रणा पनि हस्तान्तरण गरेका थिए। मन्त्री यादवले निमन्त्रणा स्वीकार गर्दै भ्रमणले दुई देशबीचको आर्थिक तथा औद्योगिक सहकार्यलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन्।


प्रकाशित : मंगलबार, साउन १२ २०८३१३:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend