मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

गत आवमा धनुषा र महोत्तरीमा ४० किलोमिटर सडक कालोपत्र

मंगलबार, साउन १२ २०८३
गत आवमा धनुषा र महोत्तरीमा ४० किलोमिटर सडक कालोपत्र

धनुषामा ३० किमी र महोत्तरीमा १० किमी कालोपत्र सडक निर्माण गरिएको छ। त्यस आवमा धनुषामा पाँच र महोत्तरीमा एउटा पुल निर्माण सम्पन्न गरिएको छ।

जनकपुरधाम- सडक डिभिजन कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र सडक र ६ वटा पुल निर्माण गरेको छ। 

सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इन्जिनियर दारोगा प्रसादका अनुसार आव २०८२/८३ मा धनुषामा ३० किमी र महोत्तरीमा १० किमी कालोपत्र सडक निर्माण गरिएको छ। त्यस आवमा धनुषामा पाँच र महोत्तरीमा एउटा पुल निर्माण सम्पन्न गरिएको छ।

धनुषाको जमुनी नदी, परशुराम तलाउ नजिक अमारी खोला, दूधमती खोला, बलुवा खोला र भुतहा खोलामा पुल निर्माण गरिएको प्रमुख दारोगाले जानकारी दिए। महोत्तरीको अंकुश खोलामा पनि सो आवमा पुल निर्माण गरिएको छ।

यसैबीच धनुषा र महोत्तरी जिल्लामा निर्माणाधीन पुल तथा सडक योजना अलपत्र पार्ने ११ निर्माण कम्पनीमाथि सडक डिभिजन कार्यालय जनकपुरधाम धनुषाले कारबाही अघि बढाएको छ।

ती जिल्लामा निर्माणाधीन सडक तथा पुलको निर्माणको ठेक्का लिइ समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी कम्पनीमाथि कारबाही अघि बढाएको सो कार्यालयले जनाएको छ।

त्यस्तै, जिल्लामा निर्माणाधीन केही पुल सीमा सुरक्षासम्बन्धी विषय, केहीमा ठेक्का रद्द, केही अदालती विवाद र सुस्त निर्माणका कारण काम अलपत्र परेका छन्।

प्रमुख प्रसादका अनुसार जनकपुरधाम-जटही ६ लेन सडकमा पर्ने जमुनी खोला, दूधमती खोला र बसही नदीमा निर्माणाधीन तीनवटै पुल अलपत्र पार्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको छ। 

कचुरी-नयाँटोल-कटरैत सडकको जल्लाद नदी पुल र दुहबी-हर्साहा सडकको दूधमती नदी पुल उच्च अदालतको आदेशसँग सम्बन्धित विषयका कारण निर्माण रोकिएको प्रमुख दारोगाले बताए।

पुल निर्माणमा भएको ढिलाइका कारण वर्षायाममा आवागमनमा समस्या, जोखिमपूर्ण यात्रा र आर्थिक गतिविधिमा असर परेको स्थानीयको गुनासो छ। रासस


प्रकाशित : मंगलबार, साउन १२ २०८३१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend