मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

नागढुंगा सुरुङमार्गमा सार्वजनिक सवारीसाधनको शुल्कप्रति व्यवसायी असन्तुष्ट, पुनर्विचार गर्न माग

मंगलबार, साउन १२ २०८३
नागढुंगा सुरुङमार्गमा सार्वजनिक सवारीसाधनको शुल्कप्रति व्यवसायी असन्तुष्ट, पुनर्विचार गर्न माग

२७ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको आयोजना खर्चको हिसाबले चुनौतीपूर्ण देखिए पनि नागढुंगा सुरुङमार्गले नेपालको आधुनिक पूर्वाधार विकासमा नयाँ मानक भने स्थापना गरेको छ।

काठमाडौं- नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गरेबापत सार्वजनिक तथा मालबाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्कप्रति यातायात व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले सुरुङमार्ग सञ्चालन खर्च र यातायात व्यवसाय दुवैलाई असर नपर्ने गरी शुल्क निर्धारण गर्न आग्रह गरेका छन्। 

नेपालको यातायात पूर्वाधारको इतिहासमा महत्वपूर्ण कदम पार गर्दै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग औपचारिकरूपमा सुरु भएको छ।

‘अपरेसनल’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमबार आयोजित एक समारोहबीच सुरुङमार्गको उद्घाटन भएसँगै नेपाली जनताको आधुनिक सुरुङमार्गमा सवारी गुडाउने दशकौँ पुरानो सपनाले मूर्तरूप पाएको हो।

नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको सञ्चालनले मुलुकलाई विधिवत रूपमा सुरुङ मार्गको युगमा प्रवेश गराएको छ। यातायात व्यवसायी तथा पूर्वाधार विज्ञहरूले यसलाई नेपाली सडक यातायात क्षेत्रको ठूलो उपलब्धिका रूपमा चित्रण गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नागढुंगा सुरुङमार्गको उद्घाटनप्रति खुशी व्यक्त गर्दै सरकारले देशभरका अन्य निर्माणाधीन सुरुङमार्गलाई पनि ‘फास्ट ट्रयाक’मा अघि बढाउनुपर्ने बताए।

उनले यस आयोजनाले समयको वचत गर्नुका साथै नागढुंगाको कठिन सडक खण्डमा हुने सम्भावित दुर्घटनाको जोखिमलाई न्यून गर्ने विश्वास व्यक्त गरे।

सुरुङमार्ग प्रयोग गरेबापत सार्वजनिक तथा मालबाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्कप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्। उनले सुरुङमार्ग प्रयोग गर्ने सार्वजनिक यात्रुवाहक तथा मालबाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्क पुनर्विचार गर्न पनि सरकारलाई आग्रह गरे।

उनले सुरुङमार्ग प्रयोग गर्ने सवारीको लागि तोकिएको शुल्क धेरै बढी भएको गुनासो आएको बताउँदै सुरुङमार्ग सञ्चालन खर्च र सार्वजनिक यातायात व्यवसाय दुवैलाई असर नपर्ने गरी शुल्क निर्धारण गर्न आग्रह गरे। उनले सरकारले देशभरका अन्य सुरुङमार्ग निर्माणको कार्यसमेत तीब्र गतिमा अघि बढाउनुपर्ने बताए।

‘सुरुङमार्गमा महसुल अघि धेरै भयो भन्ने गुनासो सार्वजनिक यातायात क्षेत्रको आएको छ। यो सुरुङमार्ग धेरै ठूलो रकम खर्चिएर बनेको भन्ने हामीले सुनेका छौँ। तिर्नुपर्ने महशुल त तिर्नुपर्छ। सुरुङमार्ग सञ्चालन र सार्वजनिक यातायातलाई असर नपर्नेगरी आर्थिक कुराको व्यवस्थापन गर्न म सरकारलाई आग्रह गर्न चाहन्छु’ उनले भने।

surung ma mantri.jpg
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सोमबार नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग उद्घाटनपश्चात सुरुङभित्र गाडी चलाउँदै

सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार सुरुङमार्ग हाल केही दिनका लागि परीक्षण (ट्रायल) को चरणमा रहनेछ। उनले सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि खुला नभएसम्म कुनैपनि शुल्क नलिइने स्पष्ट पारे।

सुरुङमार्गको अन्तिम चरणको प्राविधिक परीक्षण (मक ड्रिल) बाँकी रहेको भन्दै केही दिनमै सबै प्रकारका सवारीको लागि सुरुङमार्ग सञ्चालन गरिने उनले बताए। उनले सुरुङमार्गको आयु (डिजाइन लाइफ) एक सय वर्ष रहेको पनि बताए।

‘यो सुरुङमार्गको एक सय वर्षको डिजाइन लाइफ हुन्छ। यसलाई राम्रोसँग चलाउन सकियो भने यो डिजाइन लाइफसम्म टिक्छ। सुरुङमार्गमा अब हाम्रो थोरै काम गर्न बाँकी छ। हामीले अलिकति मक ड्रिल गर्नुपर्नेछ। त्यसपछि छिट्टै नै सुरुङमार्ग पूर्ण रुपबाट सञ्चालनमा आउँछ' उनले भने' हामीले सुरुङमार्गमा प्रवेश गर्ने र बाहिरिने सवारीको लागि पहिले नै शुल्कहरु तोकिसकेका छौँ। सुरुङमार्ग पूर्ण सञ्चालन नभएसम्म हामी शुल्क लिदैनौँ। अहिले ट्रायल फेज नै छ। पूर्णरुपमा सञ्चालन भएपछि हामी पूर्वनिर्धारित रुपमा शुल्क लिन्छौँ।’

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालको भौगोलिक जटिलताका कारण सुरक्षित र छिटो यात्राका लागि सुरुङमार्ग अपरिहार्य रहेको बताए। उनका अनुसार चालु आर्थिक वर्षभित्रै निर्माणाधीन ९ सय मिटर लामो सिद्धबाबा सुरुङमार्ग पनि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

सुरुङमार्ग सञ्चालनको लागत र शुल्कबारे स्पष्ट पार्दै सचिव सिग्देलले सुरुङभित्र सुरक्षा, निगरानी र वायुको गुणस्तर कायम राख्न २४ सै घण्टा प्राविधिक जनशक्तिको उपस्थिति आवश्यक पर्ने भएकाले यसको सञ्चालन खर्च तुलनात्मक रूपमा बढी हुने बताए तर भविष्यमा धेरै सुरुङमार्गहरू सञ्चालनमा आएपछि एउटै एकीकृत व्यवस्थापन प्रणालीमार्फत लागत घटाउन सकिने उनको भनाइ छ।

हाल काठमाडौं-तराई फास्ट ट्रयाकलगायत अन्य ६ वटा सुरुङमार्गको निर्माण कार्य पनि द्रुत गतिमा अघि बढिरहेको उनले जानकारी दिए।

‘यो सुरुङमार्गको उद्घाटन गरेसँगै हामी सुरुङमार्गको युगमा प्रवेश गरेका छौँ। निर्माणको क्रममा रहेको ९ सय मिटरको सिद्धबाबा सुरुङमार्ग हामी यही आर्थिक वर्षभित्र सञ्चालन गर्छौँ। त्यसैगरी ६ वटा सुरुङमार्ग पनि हाम्रो फास्ट ट्र्याकमा निर्माणको क्रममा रहेका छन्। यसले के देखाउँछ भने विस्तारै हामी सुरुङमार्गमा प्रवेश गर्दैछौँ। सुरुङमार्ग आफैंमा सुरक्षित यात्राको लागि एउटा विकल्प हो। तर सञ्चालन लागत अलि बढी हुन्छ। लागत कसरी घटाउने भन्ने विषयमा हामीले अध्ययन, अनुसन्धान गर्नुपर्ने हुन्छ' उनले भने। 

भविष्यमा अझै धेरै सुरुङमार्ग निर्माण गर्नुपर्ने आवश्यकता देखिएको भन्दै उनी भन्छन्, 'सुरुङ सञ्चालनको क्रममा दुर्घटना हुन नदिनको लागि पनि मानवीय उपस्थिति आवश्यक छ। त्यसकारण विभिन्न सवारीसाधनबाट उत्पन्न हुने ग्यास फाल्नको लागि पनि २४ सै घण्टा मानवीय उपस्थिति हुनुपर्ने कारणले अलि महँगो पर्छ। तर भविष्यमा धेरै सुरुङहरु भयो भने एउटै मेकानिजम र एउटै व्यवस्थापनले एकभन्दा बढी सुरुङमार्ग सञ्चालन गर्दाखेरी त्यसको लागत घट्छ।’

वि.सं. २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास गरिएको सुरुङ आयोजनाको सुरुवाती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। निर्माणका क्रममा आइपरेका भूगर्भीय समस्या, डिजाइनमा गरिएका परिमार्जन र अन्य प्राविधिक कारणले गर्दा यसको कुल लागत २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

खर्चको हिसाबले चुनौतीपूर्ण देखिए पनि नागढुंगा सुरुङमार्गले नेपालको आधुनिक पूर्वाधार विकासमा एक नयाँ मानक भने स्थापना गरेको छ।

कार, जिप र भ्यान - काठमाडौं प्रवेश : ६५ रुपैयाँ, काठमाडौंबाट बाहिर : ६० रुपैयाँ

मिनीबस, मिनी ट्रक र टिपर - काठमाडौं प्रवेश : ११५ रुपैयाँ, काठमाडौंबाट बाहिर : ८० रुपैयाँ

बस र ट्रक - काठमाडौं प्रवेश : २६० रुपैयाँ, काठमाडौंबाट बाहिर : २०० रुपैयाँ

प्रवेश निषेध - पैदलयात्री, दुईपाङ्ग्रे सवारीसाधन, तीनपाङ्ग्रे सवारीसाधन, डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका सवारी साथै विस्फोटक पदार्थ बोकेका सवारीसाधन


प्रकाशित : मंगलबार, साउन १२ २०८३११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend