मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

पूर्वीनाका काँकरभिट्टा हुँदै गतवर्ष साढे नौ हजार विदेशी पर्यटक भित्रिए

मंगलबार, साउन १२ २०८३
पूर्वीनाका काँकरभिट्टा हुँदै गतवर्ष साढे नौ हजार विदेशी पर्यटक भित्रिए

नाकाबाट कुल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन्।

झापा- नेपालको पूर्वीनाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ४४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका छन्। छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्यांकमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन।

नाकाबाट कुल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन्। कुल आगमनको ५३ प्रतिशत अर्थात् चार हजार ९९४ जना भुटानी नागरिक रहेका छन्। यस्तै, दोस्रो स्थानमा अमेरिकाका नागरिक रहेका छन्, जहाँबाट २३ प्रतिशत अर्थात् दुई हजार १५२ जना पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिए।

कार्यालयको तथ्यांकअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्य पर्यटकीय यामको रूपमा लिइएको छ। सबैभन्दा बढी पुस महिनामा एक हजार ८५० जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौ महिनामा २१६ जना मात्र आएका थिए।

पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्न र पूर्वको पशुपतिनाथका रूपमा परिचित खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको निमित्त प्रमुख राजवंशीको भनाइ छ।

अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र यस नाकाबाट पूर्णरूपमा अध्यागमन सेवा सुरु गरेकाले धेरै विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्नेबारे अझै पर्याप्त जानकारी भइनसकेको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, साउन १२ २०८३१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend