मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न, एआई र रोबोटिक्समार्फत नवप्रवर्तन प्रवर्द्धनमा जोड

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १२ २०८३
‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न, एआई र रोबोटिक्समार्फत नवप्रवर्तन प्रवर्द्धनमा जोड

एनसेलले शीर्ष तीन टोलीलाई अनलिमिटेड डेटा तथा भ्वाइस प्याकेज, खल्तीले ११ टोलीलाई प्रतिटोली पाँच हजार रूपैयाँ बराबरको प्याकेज र यति क्लाउड डट एआईले ११ टोलीलाई ६ महिनासम्म निःशुल्क एआई क्लाउड होस्टिङ सेवा उपलब्ध गराएको छ।

काठमाडौं- एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न भएको छ। काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित कार्यक्रममा नीति निर्माता, उद्योगी, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थी तथा प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता रहेको आयोजक सनवे कलेजले जनाएको छ।

कार्यक्रम उद्घाटन गर्दै सनवे कलेजका प्रिन्सिपल खुशल रेग्मीले नवप्रवर्तन समस्या पहिचान र समाधान खोज्ने सोचबाट सुरु हुने भन्दै शिक्षा प्रविधिको प्रयोगमा मात्र सीमित नभई नयाँ प्रविधि सिर्जना गर्ने आधार बन्नुपर्ने बताएका थिए। पूर्वमन्त्री गणेश शाहले नेपालमा नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकास समयको आवश्यकता भएको उल्लेख गर्दै युवालाई अवसर सिर्जना गर्ने सोचका साथ अघि बढ्न आग्रह गरेका थिए।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमलकुमार शर्माले एआई, अनुसन्धान र सीप विकासमार्फत नेपालको डिजिटल रूपान्तरणका लागि सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

फेस्टमा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान तथा करिअर विकाससँग सम्बन्धित प्राविधिक सत्र, कार्यशाला, प्यानल छलफल, प्रतियोगिता र प्रविधि प्रदर्शनी आयोजना गरिएको थियो। ‘एआई इन जर्नालिजम’, ‘एआई फर प्रोडक्टिभिटी’ तथा ‘एआई टक सिरिज’ जस्ता सत्रमा पत्रकारिता, स्वास्थ्य, शिक्षा, उद्योग, बौद्धिक सम्पत्ति र डेटा गोपनीयतामा एआईको प्रयोग तथा चुनौतीबारे छलफल भएको आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत ३० भन्दा बढी उद्योग तथा संस्थाको सहभागितामा करिअर एक्स्पो र मोक इन्टरभ्यु सञ्चालन गरिएको थियो। १५ भन्दा बढी कम्युनिटी पार्टनरले नवप्रवर्तन तथा स्टार्टअपसँग सम्बन्धित गतिविधिमा सहकार्य गरेका थिए। ‘नेपाल इन द इरा अफ फिजिकल एआई’ विषयक विशेष छलफलमा एआई नीति, अनुसन्धान, साइबर सुरक्षा, डाटा गोपनीयता तथा उद्योग–शिक्षा सहकार्यका विषयमा विज्ञहरूले धारणा राखेका थिए।

प्रतियोगितामा उत्कृष्ट हुने टोलीलाई विभिन्न संस्थाले पुरस्कार तथा प्रोत्साहन उपलब्ध गराएका छन्। एनसेलले शीर्ष तीन टोलीलाई अनलिमिटेड डेटा तथा भ्वाइस प्याकेज, खल्तीले ११ टोलीलाई प्रतिटोली पाँच हजार रूपैयाँ बराबरको प्याकेज र यति क्लाउड डट एआईले ११ टोलीलाई ६ महिनासम्म निःशुल्क एआई क्लाउड होस्टिङ सेवा उपलब्ध गराएको आयोजकले जनाएको छ। 


प्रकाशित : मंगलबार, साउन १२ २०८३१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend