काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रक्रिया सुरु गरेको छ।
मन्त्रालयले गठन गरेको 'छनोट तथा सिफारिस समिति' को निर्णयानुसार प्रकाशित सार्वजनिक सूचना अनुसार योग्य नेपाली नागरिकहरूले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दिन सक्नेछन्।
यस पदका लागि आवेदन दिने उम्मेदवारले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा स्नातकोत्तरवा चार्टर्ड एकाउन्टेन्सी सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ।
साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा १५ वर्षको अनुभव भई त्यसमध्ये कम्तीमा ७ वर्ष सरकारी अधिकृत स्तर (द्वितीय श्रेणी) वा संगठित संस्थाको कार्यकारी प्रमुख वा सोको दुई तह मातहतको व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्ने छ।
आवेदकको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ भने गैर-नेपाली, विदेशी स्थायी आवासीय अनुमति लिएका, फौजदारी कसुरमा सजाय पाएका वा कालो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगेका व्यक्तिहरू यसका लागि अयोग्य हुनेछन्।
आवेदकले आफ्नो व्यक्तिगत विवरणका साथ नेप्से सञ्चालनका लागि ३ प्रति खामबन्दी 'व्यावसायिक कार्ययोजना' समेत पेस गर्नुपर्नेछ। दरखास्त दस्तुरबापत ५ हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको अर्थ मन्त्रालयको खातामा बुझाई सक्कल भौचर संलग्न गर्नुपर्ने व्यवस्था छ।
प्राप्त आवेदनहरूबाट शैक्षिक योग्यता, अनुभव, कार्ययोजनाको मूल्याङ्कन र प्रस्तुतीकरणका आधारमा समितिले उपयुक्त उम्मेदवारको सिफारिस गर्नेछ।