काठमाडौं- सडकमा विद्युतीय गाडीको प्रयोग बढिरहेको बेला आकाशमा पनि विद्युतीय विमान देखिन थालेका छन्। हालसम्म पूर्णरूपमा ब्याट्रीबाट चल्ने साना विमान विद्युतीय-हाइब्रिड क्षेत्रीय जहाज र ठाडो उड्न तथा अवतरण गर्न सक्ने एयर ट्याक्सीको व्यावसायिक उडानको परीक्षणमा अघि बढेका छन्।
बेलायतमा हालै सम्पन्न फार्नबरो एयर शोमा दिगो उड्डयन प्रविधि प्रमुख आकर्षण बनेको थियो। जलवायु परिवर्तनमा उड्डयन क्षेत्रको प्रभाव घटाउने उपायाका रूपमा विद्युतीय र हाइब्रिड जहाजलाई भविष्यको प्रविधिका रूपमा अघि सारिएको छ।
विश्वव्यापी कार्बन उत्सर्जनमा उड्डयन क्षेत्रको प्रत्यक्ष योगदान करिब २.५ प्रतिशत छ। जहाजबाट निस्कने नाइट्रोजन अक्साइडलगायतका ग्यासले जलवायु परिवर्तनमा थप असर पार्ने अध्ययनहरूले देखाएका छन्। सन् २०५० सम्म ‘नेट–जिरो’ उत्सर्जनमा पुग्ने लक्ष्य पूरा गर्न नयाँ प्रविधिको खोजी तीव्र भएको हो।
हाल व्यावसायिक रूपमा प्रयोग भइरहेको विद्युतीय जहाजमा ‘पिपिस्ट्रेल भेलिस इलेक्ट्रो’ सबैभन्दा चर्चित छ। स्लोभेनियामा बनेको यो दुई सिटे जहाज पाइलट प्रशिक्षणका लागि प्रमाणित विश्वकै पहिलो पूर्ण विद्युतीय हो। परम्परागत विमानको तुलनामा न्यून इन्जिन परीक्षण र मर्मत खर्च लाग्छ। यसमा प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन पनि हुँदैन।
अहिलेसम्मको बाधक भनेकै यसको उडान दुरी बढाउन नसक्नु हो। अहिलेको ब्याट्री प्रविधिका कारण यो विमान करिब ५० मिनेटभन्दा बढी उड्न सक्दैन। यसको प्रयोग मुख्यतः प्रशिक्षण र छोटो दुरीका उडानमा सीमित छ।
विद्युतीय सवारीसाधनमा भइरहेका प्रगतिसँगै जहाजको ब्याट्री पनि सुधार हुँदै जाने यसमा संलग्नहरूको अपेक्षा छ। ब्याट्री प्रविधिमा निरन्तर भइरहेको विकासले उडान दुरी क्रमशः बढाउन सकिने विश्वास धेरैको छ।
यद्यपि ठूला यात्रुवाहक जहाज पूर्णरूपमा ब्याट्रीबाट सञ्चालन गर्न भने अझै चुनौतीपूर्ण छ। इन्धन सकिँदै जाँदा तौल घट्ने परम्परागत विमानभन्दा फरक विद्युतीय विमानमा ब्याट्रीको तौल स्थिर रहने भएकाले दक्षता घट्छ, त्यसमाथि आकस्मिक अवस्थाका लागि आवश्यक अतिरिक्त ऊर्जा पनि बोकेर हिँड्नुपर्ने भएकाले हाल उपलब्ध ब्याट्री प्रविधि पर्याप्त नभएको विज्ञहरूको निष्कर्ष छ ।
अहिले उड्डयन उद्योगको ध्यान हाइब्रिड प्रणालीमा केन्द्रित भएको छ। यसमा विद्युतीय मोटर र ग्यास टर्बाइन इन्जिनलाई एउटै विमानमा प्रयोग गरिन्छ। अमेरिकी कम्पनी हार्ट एयरोस्पेसले विकास गरिरहेको ३० सिटे ‘ईएस–३०’ हाइब्रिड–विद्युतीय विमानले केवल ब्याट्री प्रयोग गर्दा करिब २०० किलोमिटर उड्न सक्छ। हाइब्रिड प्रणाली प्रयोग गर्दा यसको उडान दुरी ८०० किलोमिटरसम्म पुग्ने कम्पनीको दाबी छ। यसलाई अहिलेका क्षेत्रीय जेट विमानभन्दा करिब ४० प्रतिशत न्यून खर्चमा सञ्चालन गर्न सकिने अनुमान गरिएको छ।
जीई एयरोस्पेस र अमेरिकी अन्तरिक्ष निकाय नासाले अर्को प्रकारको हाइब्रिड प्रणाली विकास गरिरहेका छन्। यसमा विद्युतीय मोटरले टेकअफ र उचाइ लिने क्रममा अतिरिक्त शक्ति दिने व्यवस्था गरिएको छ। परीक्षणका क्रममा परिमार्जित क्षेत्रीय विमानले उत्तर एटलान्टिक पार गरेर सफल उडानसमेत गरिसकेको छ।
विद्युतीय ‘ईभीटोल’ (इलेक्ट्रिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) विमान पनि विस्तारै व्यावसायिक प्रयोगतर्फ बढ्न थालेका छन्। हेलिकप्टरको विकल्पका रूपमा विकास भइरहेका यी साना विमानलाई भविष्यमा सहरी क्षेत्रमा ‘एयर ट्याक्सी’ सेवाका लागि प्रयोग गर्ने योजना छ।
बेलायती कम्पनी भर्टिकल एयरोस्पेसले विकास गरेको एउटा ईभीटोलले फार्नबरो एयर शोमा सार्वजनिक प्रदर्शन उडान गरिसकेको छ। कम्पनीले यसको उडान दुरी बढाउन हाइब्रिड संस्करण पनि विकास गरिरहेको छ।