मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

साउनभित्र आईपीओ, इन्ट्रा-डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका ल्याइने

मंगलबार, साउन १२ २०८३
साउनभित्र आईपीओ, इन्ट्रा-डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका ल्याइने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्।

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्।

सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका क्रममा उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए। नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न थालेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले धितोपत्र बोर्डको भूमिका नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै कानून निर्माण तथा नियमनका क्रममा सबै सरोकारवालासँग परामर्श गरी साझा बुझाइका आधारमा अघि बढ्न आग्रह गरे। उनले लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै पुँजीबजारलाई थप विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।

धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पुँजीबजार विकासको ‘ब्लुप्रिन्ट’ तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिए। उनका अनुसार चालु साउनभित्र प्राथमिक तथा दोस्रो बजारसँग सम्बन्धित विभिन्न सुधारका काम अघि बढाइनेछन्।

उनले साउनभित्रै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गरिने तथा सरोकारवालासँग परामर्शपछि ती व्यवस्थाहरू क्रमिक रूपमा कार्यान्वयनमा ल्याइने बताए। बोर्डले बजारलाई आधुनिक, व्यवस्थित र लगानीकर्तामैत्री बनाउने लक्ष्यसहित नियामकीय सुधारलाई तीव्रता दिएको पनि उनले उल्लेख गरे।


प्रकाशित : मंगलबार, साउन १२ २०८३०७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend