मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

होङ्सी शिवम् सिमेन्टको वित्तीय अवस्था बलियो, ९ महिनामै १० अर्ब रुपैयाँको कारोबार

मंगलबार, साउन १२ २०८३
होङ्सी शिवम् सिमेन्टको वित्तीय अवस्था बलियो, ९ महिनामै १० अर्ब रुपैयाँको कारोबार

नेपालको सबैभन्दा ठूलो एकीकृत (ग्रीनफिल्ड) सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्ट प्रालिले निर्माण क्षेत्रको सुस्त बजारबीच पनि गत आर्थिक वर्षको पहिलो ९ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँबराबरको कारोबार गरेको छ।

काठमाडौं- नेपालको सबैभन्दा ठूलो एकीकृत (ग्रीनफिल्ड) सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्ट प्रालिले निर्माण क्षेत्रको सुस्त बजारबीच पनि गत आर्थिक वर्षको पहिलो ९ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँबराबरको कारोबार गरेको छ।

उत्पादन, बिक्री, नाफा र ऋण व्यवस्थापनमा उल्लेख्य सुधार देखिएपछि ६ अर्ब रुपैयाँबराबरको अल्पकालीन कर्जा सीमामा रहेको 'ए-टु प्लस' रेटिङलाई इक्रा नेपालले पुनः पुष्टि गरेको छ। इक्रा नेपालका अनुसार यो रेटिङले कम्पनीको अल्पकालीन वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता उच्च रहेको र कर्जा जोखिम न्यून रहेको संकेत गर्छ।

इक्रा नेपालले कम्पनीको साख बलियो रहनुमा सिमेन्ट तथा क्लिंकरको बिक्री मूल्यमा आएको सुधार, विद्युत् र इन्धन लागतमा आएको कमी, उत्पादन क्षमताको प्रभावकारी उपयोग तथा ऋणभारमा आएको गिरावटलाई प्रमुख कारण मानेको छ।

कम्पनीको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको २९.१ प्रतिशतबाट बढेर गत आर्थिक वर्षको पहिलो ९ महिनामा ३१ प्रतिशत पुगेको छ, जसले नाफा आर्जन गर्ने क्षमता थप मजबुत भएको देखाउँछ।

कम्पनीको कारोबार विगत केही वर्षमा निर्माण क्षेत्रको मन्दीका कारण घटे पनि पुनः सुधारको क्रममा देखिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब २० करोड ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको आम्दानी त्यसपछि क्रमशः घटेर आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ४ करोड ३० लाख रुपैयाँ र २०८०/८१ मा १० अर्ब ९६ करोड ७० लाख रुपैयाँमा झरेको थियो। तर आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २१ प्रतिशतको वृद्धिसहित १३ अर्ब २४ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो।

गत आर्थिक वर्षको पहिलो ९ महिनामै १० अर्ब ३१ करोड ८० लाख रुपैयाँको कारोबार गरिसकेकाले कम्पनीको आम्दानी पुनः विस्तारको क्रममा रहेको इक्रा नेपालले जनाएको छ।

वित्तीय सूचकहरूमा पनि कम्पनीले उल्लेखनीय सुधार गरेको छ। कम्पनीको कुल ऋण र मूर्त नेटवर्थ अनुपात ०.१७ गुणाबाट घटेर ०.१५ गुणामा झरेको छ भने कुल ऋण र सञ्चालन नगद आम्दानी (ओपीबीडीआइटीए) अनुपात ०.८१ गुणाबाट घटेर ०.६८ गुणामा सीमित भएको छ।

आर्थिक वर्ष २०२५ मै दीर्घकालीन ऋण भुक्तानी गरिसकेपछि कम्पनीको ऋण सेवा क्षमता उल्लेखनीय रूपमा सुधारिएको छ। डेट सर्भिस कभरेज रेसियो (डीएससीआर) १.१२ गुणाबाट बढेर १८.७० गुणा पुगेको छ भने ब्याज भुक्तानी क्षमता (इन्टरेस्ट कभरेज रेसियो) १०.१३ गुणाबाट बढेर २२.१५ गुणा पुगेको छ। यसले कम्पनीको नगद प्रवाह र ऋण तिर्ने क्षमता उद्योगकै बलियोमध्ये रहेको देखाउँछ।

तरलता व्यवस्थापनका दृष्टिले पनि कम्पनी सुदृढ अवस्थामा रहेको इक्रा नेपालले जनाएको छ। सन् २०२६ अप्रिल मध्यसम्म कम्पनीसँग करिब ३ अर्ब २० करोड रुपैयाँ नगद मौज्दात रहेको छ। आर्थिक वर्ष २०२४ र २०२५ का करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरका लाभांश नियामकीय स्वीकृतिको प्रतीक्षामा रहेका छन्। कम्पनीले भविष्यका सम्भावित लगानी योजनालाई समेत ध्यानमा राख्दै लाभांश वितरणमा संयमता अपनाएको प्रतिवेदनमा उल्लेख छ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको होङ्सी शिवम् नेपालकै सबैभन्दा ठूलो ग्रीनफिल्ड एकीकृत सिमेन्ट उद्योग हो।

कम्पनीको वार्षिक क्लिंकर उत्पादन क्षमता २० लाख मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २३ लाख मेट्रिक टन रहेको छ। कम्पनीले 'होङ्सी' ब्रान्डअन्तर्गत ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

ठूलो उत्पादन क्षमता, आधुनिक चिनियाँ प्रविधि, आफ्नै चुनढुङ्गा खानी तथा ऊर्जा दक्ष उत्पादन प्रणालीका कारण कम्पनीले प्रतिस्पर्धी लागतमा उत्पादन गर्न सफल भएको इक्रा नेपालको विश्लेषण छ।

कम्पनीमा चीनको होङ्सी समूहको ७० प्रतिशत र नेपालको शिवम् होल्डिङ्स लिमिटेडको ३० प्रतिशत स्वामित्व रहेको छ। चीनमा मात्रै ५० भन्दा बढी ठूला सिमेन्ट उद्योग सञ्चालन गरिरहेको होङ्सी समूहको अन्तर्राष्ट्रिय अनुभव र शिवम् समूहको स्थानीय बजार अनुभवको संयोजन कम्पनीको प्रमुख बलका रूपमा उल्लेख गरिएको छ।

यद्यपि कम्पनीले केही चुनौती भने अझै सामना गरिरहेको छ। क्लिंकर बिक्रीको शतप्रतिशत तथा सिमेन्ट बिक्रीको करिब ३५ प्रतिशत हिस्सा शीर्ष १० ग्राहकमा केन्द्रित रहेकाले ग्राहक केन्द्रीकरणको जोखिम रहेको इक्रा नेपालले औँल्याएको छ।

साथै नेपाली सिमेन्ट उद्योगमा बढ्दो प्रतिस्पर्धा, निर्माण क्षेत्रको सुस्त माग, अत्यधिक उत्पादन क्षमता र सरकारी नीतिमा हुन सक्ने परिवर्तनले भविष्यमा उद्योगको नाफामा दबाब पर्न सक्ने चेतावनी पनि प्रतिवेदनले दिएको छ। 


प्रकाशित : मंगलबार, साउन १२ २०८३०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend