सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

बचत फिर्ता गर्न माग गर्दै माइतीघरमा सहकारीपीडितको प्रदर्शन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ११ २०८३
बचत फिर्ता गर्न माग गर्दै माइतीघरमा सहकारीपीडितको प्रदर्शन

सबै पीडित समान रहेकोले सबैलाई समान व्यवहार गरेर बचत फिर्ता गर्नुपर्ने उनीहरूको माग छ। सरकारले हाल ठूला ऋणीसँग कर्जा असुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ।

काठमाडौं- समानरूपमा बचत फिर्ता गर्न माग राखेर सहकारीपीडितले माइतीघरमा प्रदर्शन गरेका छन्। सहकारीपीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमबार प्रदर्शन गरेका हुन्।

सहकारीपीडितले साना र ठूला बचतकर्ता भनेर सरकारले पीडितहरूलाई विभाजन गरेर पीडितहरूको आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन्।

सहकारीपीडित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनकारी सहकारी पीडितहरूको बचत पहिला फिर्ता गर्न सरकारसँग माग गरे।

माग सम्बोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको उल्लेख गर्दै अब सहकारीपीडितको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

सहकारी पीडितसँग विगतमा गरेका सम्झौता कार्यन्वयन गराउन आफूहरु प्रदर्शनमा उत्रिएको उनको भनाइ छ। उनले सरकारले साना र ठूला बचतकर्ता भनेर सहकारीपीडितलाई नै विभाजन ल्याउन खोजेको पनि आरोप लगाए।

सबै पीडित समान रहेकोले सबैलाई समान व्यवहार गरेर बचत फिर्ता गर्नुपर्ने उनीहरूको माग छ। सरकारले हाल ठूला ऋणीसँग कर्जा असुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ।

प्रदर्शनमा सहभागीहरुले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो बचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म?’, ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

यस्तै उनीहरूले आफू पीडित बनेको सहकारी सञ्चालकका फोटोसहितको ब्यानरसमेत प्रदर्शन गरेका छन्।


प्रकाशित : सोमबार, साउन ११ २०८३१६:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend