काठमाडौं- पछिल्लो सातायता सुधारतर्फ देखिएको सेयर बजार यो साता पहिलो कारोबारमा पुन: घटेको छ।
गएको साता समग्रमा ५७.०७ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा झरेको छ।
आज सोमबारको कारोबारमा ३६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २३४ कम्पनीको मूल्य घटेको छ। बजारमा ६ अर्ब ८ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ।
अघिल्लो साता प्रधानमन्त्री बालेन्द्र शाहले धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेयता केही सकारात्मक देखिएको सेयर बजार पुन: अन्योलमा देखिएको हो।
प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग संवादलाई तीव्रता दिँदै लगानीमैत्री अवस्था सिर्जना गर्ने प्रयास गरिरहँदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा नै देखिन्छन्।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।
नयाँ सरकार बनेसँगै बजारले उच्च बिन्दु भेट्ने अपेक्षा पूरा हुन सकेको छैन। अहिले पुन: बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको विश्लेषण भइरहँदा बजारमा त्योअनुरुप कारोबार देखिँदैन। संगठित लगानीकर्तासमेत सकारात्मक बन्न सकेका देखिँदैनन्।