सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

विश्वकै उत्कृष्ट लक्जरी होटलको सूचीमा पहिलो बन्यो शिन्ता मणि मुस्ताङ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ११ २०८३
विश्वकै उत्कृष्ट लक्जरी होटलको सूचीमा पहिलो बन्यो शिन्ता मणि मुस्ताङ

रोब रिपोर्टले शिन्ता मणि मुस्ताङलाई प्रसिद्ध डिजाइनर बिल बेन्स्लीको उत्कृष्ट सिर्जनामध्ये एक भन्दै हिमाली दृश्य, स्थानीय संस्कृति र शारीरिक तथा मानसिक पुनर्ताजगीको अनुपम अनुभव दिने गन्तव्यका रूपमा चित्रण गरेको छ।

काठमाडौं- नेपालको लक्जरी पर्यटनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा शिन्ता मणि मुस्ताङ विश्वप्रसिद्ध रोब रिपोर्टले सार्वजनिक गरेको ‘५० ग्रेटेस्ट लक्जरी होटेल्स अन अर्थ २०२६’ सूचीमा पहिलो स्थानमा परेको छ।

धनी तथा उच्चस्तरीय यात्रुहरूका लागि विश्वका उत्कृष्ट होटल छनोट गर्न २४ जना अन्तर्राष्ट्रिय ट्राभल विशेषज्ञ (ट्राभल मास्टर्स)को मूल्यांकनका आधारमा तयार पारिने यो सूचीलाई लक्जरी आतिथ्य उद्योगको प्रतिष्ठित मापदण्ड मानिन्छ। यस वर्ष विश्वका चर्चित लक्जरी होटललाई पछि पार्दै शिन्ता मणि मुस्ताङ शीर्ष स्थानमा उक्लिएको हो।

रोब रिपोर्टले शिन्ता मणि मुस्ताङलाई प्रसिद्ध डिजाइनर बिल बेन्स्लीको उत्कृष्ट सिर्जनामध्ये एक भन्दै हिमाली दृश्य, स्थानीय संस्कृति र शारीरिक तथा मानसिक पुनर्ताजगीको अनुपम अनुभव दिने गन्तव्यका रूपमा चित्रण गरेको छ।

शेर्पा हस्पिटालिटी ग्रुप (एसएचजी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नाम्ग्याल शेर्पाले यो उपलब्धि केवल एउटा होटलको सफलतामा सीमित नभई नेपालको संस्कृति, प्राकृतिक सम्पदा, स्थानीय समुदाय र मौलिकतालाई अन्तर्राष्ट्रिय लक्जरी पर्यटनसँग जोड्ने दीर्घकालीन प्रयासको विश्वव्यापी मान्यता भएको बताए।

उनका अनुसार शिन्ता मणि मुस्ताङले सन् २०२४ मा 'बेस्ट अफ द बेस्ट' तथा '५० बेस्ट लक्जरी होटल्स इन द वर्ल्ड' सूचीमा स्थान बनाएको थियो। त्यसपछि २०२५ मा 'बेस्ट लक्जरी एड्भेन्चर होटल' को उपाधि जित्दै २०२६ मा विश्वकै उत्कृष्ट लक्जरी होटल बन्न सफल भएको हो। यो सफलता होटलका कर्मचारी, साझेदार, मुस्ताङका स्थानीय समुदाय र पाहुनाहरूको साझा योगदान रहेको उनको भनाइ छ।

सन् २०२३ को अगस्टमा सञ्चालनमा आएको शिन्ता मणि मुस्ताङ लोअर मुस्ताङमा अवस्थित उच्चस्तरीय रिसोर्ट हो। विश्वप्रसिद्ध वास्तुकार तथा डिजाइनर बिल बेन्स्लीले डिजाइन गरेको यस होटलले वातावरणीय दिगोपना, स्थानीय संस्कृति र विलासी सेवाको संयोजन प्रस्तुत गरेको छ।

कम्तीमा पाँच रात बस्नुपर्ने 'अल–इन्क्लुसिभ' अवधारणामा सञ्चालन हुने होटलले प्रत्येक पाहुनाका लागि व्यक्तिगत भ्रमण कार्यक्रम तयार गर्छ। होटलका बेन्स्ली एड्भेन्चर बटलरमार्फत स्थानीय संस्कृति, सम्पदा र हिमाली भूगोलसँग जोडिएका विशेष अनुभव प्रदान गरिने कम्पनीको दाबी छ।

शेर्पा हस्पिटालिटी ग्रुपले मुस्ताङबाहेक अन्नपूर्ण, सगरमाथा र मनाङ क्षेत्रमा माउन्टेन लजेस अफ नेपाल, चितवनमा कसारा चितवन तथा लुम्बिनीमा होक्के लुम्बिनी सञ्चालन गर्दै आएको छ। कम्पनीले नेपाललाई दिगो, सांस्कृतिक र उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ।


प्रकाशित : सोमबार, साउन ११ २०८३११:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend