सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

जाइकाका अध्यक्षले भने - नागढुंगा सुरुङमार्गमा प्रविधि र सीप हस्तान्तरणको उदाहरणीय काम

सोमबार, साउन ११ २०८३
जाइकाका अध्यक्षले भने - नागढुंगा सुरुङमार्गमा प्रविधि र सीप हस्तान्तरणको उदाहरणीय काम

यस आयोजनामा ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर र कामदारहरू रहेका थिए। जसले जापानी विज्ञहरूसँगको सहकार्यमा प्रविधि र सीप हस्तान्तरणको उदाहरणीय कार्य गरेका अध्यक्ष तानाकाको भनाइ छ।

काठमाडौं- नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग 'नागढुंगा-सिस्नेखोला सुरुङमार्ग'को औपचारिक उद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ।

सोमबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सीमित भएको छ। यस पूर्वाधारले सवारी चाप न्यूनीकरण, सडक सुरक्षामा सुधार र यातायात दक्षता अभिवृद्धि गर्दै मुलुकको आर्थिक गतिविधि र नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

दुई वर्षअघि भएको कीर्तिमानी वर्षा र त्यसले निम्त्याएको अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको अध्यक्ष तानाकाले उल्लेख गरे।

निर्माणकै चरणमा रहे पनि विपद्को समयमा यस करिडोरले सम्पर्क मार्गको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। यसले संकटका समयमा आपत्कालीन सेवा र अत्यावश्यक वस्तुहरूको ढुवानीका लागि लचिलो एवं भरपर्दो पूर्वाधारको महत्वलाई पुनः स्थापित गरेको उनको भनाइ छ।

हिमालय क्षेत्रको कठिन भू-गर्भीय बनावटका कारण आयोजना निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको उनले बताए।

उत्खननका क्रममा पटक-पटक भएको पहिरो, चट्टान र जमिनको तीव्र दबाब जस्ता समस्याहरूलाई जापानी प्रविधि र नेपाली जनशक्तिको साझा प्रयासबाट समाधान गरिएको थियो।

यस आयोजनामा ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर र कामदारहरू रहेका थिए। जसले जापानी विज्ञहरूसँगको सहकार्यमा प्रविधि र सीप हस्तान्तरणको उदाहरणीय कार्य गरेका अध्यक्ष तानाकाको भनाइ छ।

उनका अनुसार नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा सम्पन्न यस आयोजनाले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको छ।

यसै सफलतालाई जग मानेर आगामी दिनमा सुरुङमार्गको योजना, निर्माण, सञ्चालन र मर्मतसम्भारमा नेपालको क्षमता अभिवृद्धि गर्न दुई देशबीच नयाँ प्राविधिक सहयोग कार्यक्रमसमेत सुरु हुने भएको छ।

जाइकाले नेपालको दिगो विकासका लागि एक भरपर्दो साझेदारको रूपमा आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको छ।

यो सुरुङमार्गले नेपालको सुरक्षित आवागमन, दिगो आर्थिक वृद्धि र राष्ट्रिय उत्थानशीलतामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

खुल्यो २ हजार ६ सय ८८ मिटर लामो ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ खुल्यो २ हजार ६ सय ८८ मिटर लामो ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’


प्रकाशित : सोमबार, साउन ११ २०८३११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend