सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

काँकडभिट्टा-लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

सोमबार, साउन ११ २०८३
काँकडभिट्टा-लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत अघि बढाइएको ९५ किलोमिटर लामो यस आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ।

झापा- पूर्व-पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा-लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ।

सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत अघि बढाइएको ९५ किलोमिटर लामो यस आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको कामले पछिल्लो समय तीव्रता पाइरहेको छ।

आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डमा पहिलो, दोस्रो र तेस्रो प्याकेजको समग्र भौतिक प्रगति ३७ दशमलव ७८ प्रतिशत पुगेको छ। निर्माण कार्यले पछिल्लो समय गति लिए पनि सम्झौता अवधि सकिन करिब छ महिना मात्र बाँकी रहेकाले निर्माण सम्झौता म्याद थप आवश्यक देखिएको छ।

पूर्वी खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म १६ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको छ। उनले मौसमले साथ दिए दैनिक ४ सय देखि ८ सय मिटरसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको बताए।

'निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ,' पन्तले भने, 'वर्षायामका कारण केही अवरोध भए पनि निर्माण कार्यलाई निरन्तरता दिइरहेका छौँ।'

पूर्वी खण्डमा इभरस्कोन-कालिका जेभीले स्तरोन्नतिको काम गरिरहेको छ। काँकडभिट्टा-सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिका लागि १० अर्ब ६ करोड ९४ लाख रूपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो।निर्माण कार्य २०८० माघ १९ गतेदेखि सुरु भएको थियो भने २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

एसियाली विकास बैंकको ८४ दशमलव नौ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी रहेको उक्त योजना सम्पन्न भएपछि सहरी क्षेत्रमा चार लेनको सडक, बीचमा तीन मिटर चौडा डिभाइडर र दुवैतर्फ सर्भिस लेनसहित करिब ५० मिटर चौडाइको सडक संरचना निर्माण हुनेछ। रासस


प्रकाशित : सोमबार, साउन ११ २०८३१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend