आइतबार, साउन १० गते २०८३    
आइतबार, साउन १० २०८३

बाँकेमा ६२ हजार ७९६ जनासँग डिम्याट खाता, करिब १० प्रतिशत निष्क्रिय

आइतबार, साउन १० २०८३
बाँकेमा ६२ हजार ७९६ जनासँग डिम्याट खाता, करिब १० प्रतिशत निष्क्रिय

प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको छ।

नेपालगञ्ज- बाँकेमा सेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खाता खोलेका छन्। प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको हो।

इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख उदय अधिकारीका अनुसार लगानीकर्ताले प्रविधिका कारण जहाँबाट पनि कारोबार गर्न सकिने भएकाले टीएमएस प्रयोगकर्ता बढेका हुन्। 'अहिले लगानीकर्ता प्रविधिमा अभ्यस्त भइसकेका छन्। त्यसैले नयाँ लगानीकर्ताले सबैभन्दा पहिले टीएमएसको सुविधा खोज्ने गरेका छन्,' उनले भने।

उनका अनुसार बाँकेमा हालसम्म ६२ हजार ७९६ जनाले हितग्राही (डिम्याट) खाता खोलेका छन्। तीमध्ये ३७ हजार ३०० पुरुष, २५ हजार ४५९ महिला र ३७ जना अन्य रहेका छन्। करिब १० प्रतिशत खाता भने निष्क्रिय रहेको उनले जानकारी दिए।

बैंक तथा वित्तीय संस्थाले पनि हितग्राही खाता खोल्ने सुविधा दिन थालेपछि र सेयर बजारबाट आम्दानी गर्न सकिने विषयमा गाउँ-गाउँसम्म जनचेतना बढ्दै गएपछि नयाँ लगानीकर्ता थपिने क्रम तीव्र बनेको उनको भनाइ छ।

लगानीकर्ता कुलप्रसाद शर्माले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिनकै लागि पनि धेरैले डिम्याट खाता खोल्ने गरेको बताए। उनका अनुसार वास्तविक लगानीभन्दा पनि अरूलाई देखासिकी गर्ने प्रवृत्तिका कारण पनि हितग्राही खाताको सङ्ख्या बढेको छ।

नेपालगञ्जमा हाल इम्पेरियल सेक्युरिटिज, कालिका सेक्युरिटिज र प्राइमो सेक्युरिटिजमार्फत सेयर कारोबार हुँदै आएको छ। बाँकेसँगै बर्दिया, दाङ, कैलाली, कालीकोट, जुम्लालगायत जिल्लाका लगानीकर्ताले पनि नेपालगञ्जलाई सेयर कारोबारको केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन्। रासस


प्रकाशित : आइतबार, साउन १० २०८३१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend