आइतबार, साउन १० गते २०८३    
आइतबार, साउन १० २०८३

पूर्वाधार विकास र सरसफाइका कार्यक्रमसँगै आकर्षक बन्दै जनकपुरधाम, सडकबत्तीले उज्यालियो सहर

आइतबार, साउन १० २०८३
पूर्वाधार विकास र सरसफाइका कार्यक्रमसँगै आकर्षक बन्दै जनकपुरधाम, सडकबत्तीले उज्यालियो सहर

उपमहानगरपालिकाले ‘उज्यालो जनकपुरधाम’ अभियानअन्तर्गत नगरका सडक र गल्लीमा सडकबत्ती जडानलाई तीव्रता दिएको जनाएको छ।

जनकपुरधाम- केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर क्षेत्रका सडक अहिले झिलीमिली उज्यालो भएका छन्। जनकपुरधाम उपमहानगरपालिकाले ‘उज्यालो जनकपुरधाम’ अभियानअन्तर्गत मुख्य सडक तथा गल्लीका खम्बामा हाइमास्ट र सेन्सरयुक्त सडकबत्ती जडान गरेपछि नगर क्षेत्र उज्यालो बनेको हो।

जनकपुरधाम-४ का रोशन कर्णले केही महिनाअघिसम्म साँझ भएपछि सडकमा हिँडडुल गर्न समस्या हुने गरेको बताए। अहिले भने रातिको समयमा पनि सडक उज्यालो हुने भएकाले आफूहरू सुरक्षित महसुस गरिरहेको उनको भनाइ छ।

सोही वडाका सहदेव साहका अनुसार पहिले अधिकांश खम्बामा बत्ती थिएनन्, भएका बत्ती पनि धेरैजसो नबल्ने अवस्थामा थिए। अहिले सडक उज्यालो भएपछि जुनसुकै समयमा निर्धक्क भएर आवतजावत गर्न सकिने भएको उनले बताए।

साहले विगतमा अँध्यारोका कारण चोरी, लुटपाटजस्ता घटना हुने गरे पनि अहिले त्यस्ता घटनामा कमी आएको दाबी गरे। उनका अनुसार सडकबत्ती जडान भएपछि नगर क्षेत्रको सौन्दर्यसमेत बढेको छ। स्थानीयका अनुसार उपमहानगरपालिकाले विभिन्न विकास योजना कार्यान्वयन गरेसँगै जनकपुरधामको स्वरूप परिवर्तन हुँदै गएको छ।

उपमहानगरपालिकाले ‘उज्यालो जनकपुरधाम’ अभियानअन्तर्गत नगरका सडक र गल्लीमा सडकबत्ती जडानलाई तीव्रता दिएको जनाएको छ।

नगर प्रमुख मनोज साहले रेल्वे स्टेसनदेखि विमानस्थलसम्म, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म तथा परिक्रमा मार्गमा ‘हाइमास्ट’ र सेन्सरयुक्त बत्ती जडान गरिएको बताए। बाँकी क्षेत्रमा पनि जडानको काम जारी रहेको उनले जानकारी दिए।

विगतमा फोहर र अव्यवस्थित सहरका रूपमा चिनिने जनकपुरधाम पछिल्लो समय पूर्वाधार विकास र सरसफाइका कार्यक्रमसँगै आकर्षक बन्दै गएको छ। रासस


प्रकाशित : आइतबार, साउन १० २०८३१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend