काठमाडौं- आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ भोलि सोमबारबाट औपचारिकरूपमा सञ्चालनमा आउने भएको छ।
निर्माण सुरु भएको ७९ महिनापछि ठेकेदार जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। नागढुंगा-सिस्नेखोला सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर रहेको छ भने आपत्कालीन सुरुङ २ हजार ५ सय ५७ मिटर लामो छ।
यो परियोजनामा जापान सरकारले करिब २१ अर्ब ५० करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारले करिब ६ अर्ब रुपैयाँ लगानी गरेको छ। कुल लगानी करिब २७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
सुरुङ सञ्चालनको जिम्मा युसिन-एआरटी जेभीले पाएको छ। यसमा चिनियाँ कम्पनी युसिन र नेपाली कम्पनी एआरटी सहभागी छन्। सेवाप्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापन गर्नेछ। सो अवधिमा सुरुङको मर्मतसम्भार, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल संकलन, सुरुङ तथा दुवैतर्फ जोडिने २.८ किलोमिटर पहुँच सडकको नियमित रेखदेख गर्नुपर्नेछ।
सुरुङ चौबीसै घण्टा सञ्चालन हुने भएकाले १ सय ५० जना कर्मचारी नियुक्त गरिएको छ। उनीहरूलाई विभिन्न सिफ्टमा परिचालन गरिनेछ। सञ्चालनअघि सबै कर्मचारीलाई सुरुङभित्रको सुरक्षा प्रणाली, उद्धार प्रक्रिया तथा उपकरण सञ्चालनसम्बन्धी तालिम दिइएको छ।
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ गते सुरु भएको थियो। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि कोभिड-१९ महामारी, स्थानीय अवरोध तथा अन्य प्राविधिक कारणले निर्माणमा ढिलाइ भएको हो।
निर्माण कम्पनीले गत जेठ महिनामै आयोजना हस्तान्तरण गरिसकेको छ। सम्झौताअनुसार हस्तान्तरणपछि एक वर्षसम्म सुरुङमा कुनै प्राविधिक समस्या देखिए निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले आफ्नै खर्चमा मर्मतसम्भार गर्नुपर्ने व्यवस्था छ।
काठमाडौं र धादिङ दुवैतर्फ निर्माण गरिएका टोल प्लाजा पनि तयार भइसकेका छन्। हाल त्यहाँ सफ्टवेयर जडान, उपकरण परीक्षण तथा डिजिटल भुक्तानी प्रणालीको अन्तिम तयारी भइसकेको छ। धादिङतर्फको पहिरो व्यवस्थापन कार्यसमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
सोमबार आयोजनाको उद्घाटन
सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार सोमबार आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्तरूपमा गर्ने तयारी छ।
उद्घाटनपश्चात तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिइने विभागले जनाएको छ।
महानिर्देशक जैसीले सुरुङमार्गलाई चरणवद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइने जानकारी दिए। उनका अनुसार उद्घाटनको एक साताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपद्को पूर्वतयारी स्वरूप ‘मक ड्रिल’ (नमूना अभ्यास) गरिनेछ।
उक्त अभ्यास सफल भएपछि करिब एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी सञ्चालन गरिनेछ। सो अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी करिव एक महिनाभित्र मात्रै सुरुङमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ।
यो सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ। विगतमा ‘बिल अफ क्वान्टिटी’ (बीओक्यु) मोडालिटीमा आधारित रही सडक विभाग आफैँले डिजाइन र सुपरीवेक्षणमा जापानी परामर्शदाताको सहयोग लिएर यो आयोजना अघि बढाएको थियो।
प्राविधिक चुनौती र स्थानीय तहमा रहेका अन्योललाई चिर्दै निर्माण सम्पन्न भएको यस आयोजनाले नेपालको पूर्वाधार विकासमा नयाँ आत्मविश्वास थपेको महानिर्देशक जैसीले बताए।
'गुणस्तरीय सुरुङ बनेको छ भन्नेमा हामी विश्वस्त छौँ। उद्घाटनलगत्तै एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न दिइनेछ। त्यसपछि मक ड्रिल गरेर सुरक्षासम्बन्धी सबै प्रणाली परीक्षण गरिनेछ। जेट फ्यानलगायत प्रणाली सिङ्क्रोनाइज गरेपछि चरणबद्ध रूपमा सवारी सञ्चालन गरिन्छ र करिब एक महिनापछि पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी छ' उनले भने।
उनले अघि भने, 'म यस परियोजनामा सुरुदेखि नै प्रत्यक्ष संलग्न छु। इभ्याकुएसन टनेल र मुख्य टनेल दुवैको ब्रेकथ्रु मेरै कार्यकालमा भयो। उद्घाटन पनि मेरै कार्यकालमा हुन लागेकाले यो सडक विभाग र समग्र राष्ट्रका लागि गर्वको विषय हो। यसले नेपालले यस्ता आधुनिक सुरुङमार्ग निर्माण गर्न सक्छ भन्ने आत्मविश्वास थपेको छ।’
नागढुंगाको कठिन उकालो र पहिरोको जोखिमबाट जोगाएर यात्रालाई सहज बनाउने विश्वास गरिएको यो सुरुङमार्गलाई नेपालको सडक पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ।
पूर्णरूपमा डिजिटल टोल प्रणाली
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि पूर्ण रूपमा डिजिटल टोल भुक्तानी प्रणाली लागु गरिने भएको छ। यसका लागि एन-ट्याग र आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधि प्रयोग गरिनेछ।
सवारी चालकले सम्बन्धित बैंकबाट एन-ट्याग लिएपछि बैंक खाताबाट रकम स्वतः कार्डमा लोड हुनेछ। सुरुङ प्रवेशद्वारमा कार्ड स्क्यान गरेपछि तोकिएको शुल्क स्वतः कटेर गेट खुल्ने व्यवस्था हुनेछ। प्रारम्भिक रूपमा अधिकतम दुई हजार रुपैयाँसम्म डिपोजिट गर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि ‘क’ वर्गका १३ वाणिज्य बैंकसँग सहकार्यको प्रक्रिया पूरा भइसकेको छ भने थप बैंकहरू पनि प्रणालीमा जोडिने सम्भावना रहेको छ।
एन-ट्यागबाहेक सवारीको अगाडिको सिसामा टाँसिने आरएफआईडी स्टिकरमार्फत पनि शुल्क तिर्न सकिनेछ। एक वा दुई पटक मात्रै सुरुङ प्रयोग गर्ने सवारीका लागि भने क्यूआर कोड र फोन-पेबाट पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिनेछ।
सेवा प्रदायक कम्पनीले दैनिक उठेको सम्पूर्ण टोल रकम सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ।
यस्तो छ टोल शुल्क
सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि टोल शुल्कसमेत निर्धारण गरिसकेको छ। कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक तथा टिपरका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ।
ठूला बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। हेभी ट्रक तथा लरीले उपत्यका प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। आयोजनाको अनुमानअनुसार सुरुङ सञ्चालनपछि दैनिक हजारौँ सवारीसाधनले यसको प्रयोग गर्नेछन्।
यी सवारीलाई प्रवेश निषेध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार पैदलयात्री, साइकल, दुईपांग्रे, तीनपांग्रे तथा अन्य गैर-मोटरयुक्त सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
त्यस्तै डिजेल, पेट्रोल, ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ। यस्ता सवारीले पुरानै नागढुंगा-सिस्नेखोला सडक प्रयोग गर्नुपर्नेछ।