आइतबार, साउन १० गते २०८३    
आइतबार, साउन १० २०८३

प्रवासी नेपालीको लगानी भित्र्याउन नयाँ ढोका खोलेका छौँ - अर्थमन्त्री वाग्ले

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १० २०८३
प्रवासी नेपालीको लगानी भित्र्याउन नयाँ ढोका खोलेका छौँ - अर्थमन्त्री वाग्ले

अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई नेपालको समृद्धिको महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै वाग्लेले देश निर्माणका लागि सबै नेपालीले साझा उद्देश्यका साथ हातेमालो गर्नुपर्ने बताए।

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले 'एक पटकको नेपाली, सधैँको नेपाली' भन्ने नीतिमा स्पष्ट रहेको बताउँदै प्रवासमा रहेका नेपालीलाई त्यसमा विश्वस्त रहन आग्रह गरेका छन्।

अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूले शनिबार आयोजना गरेको सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले प्रवासी नेपालीलाई नेपालमा लगानी बढाउन पनि आह्वान गरे।

वाग्लेले प्रवासी नेपालीलाई नेपालको विकास र लगानी विस्तारका सद्भावना दूतको संज्ञा दिंदै नयाँ सरकारले सुशासन सुदृढ गर्ने, सार्वजनिक सेवा प्रवाह सुधार्ने र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने दिशामा काम गरिरहेको बताए। ती प्रयासलाई सफल बनाउन गैरआवासीय नेपालीको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

उनले सरकारले सय दिनको अवधिमा सुशासन, सार्वजनिक सेवा सुधार र आर्थिक व्यवस्थापनमा उल्लेखनीय सुरुआत गरेको दाबी गर्दै नेतृत्व तहले उच्च नैतिकता, योग्यता आधारित प्रणाली र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाएको बताए।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत कर प्रणाली, राजस्व परिचालन, बजेट वितरण र लगानी प्रवर्द्धनका क्षेत्रमा नयाँ व्यवस्था गरिएको उल्लेख गरे। नेपालमा वैध विदेशी लगानी भित्र्याउन र लगानीकर्ताले प्रतिफल सहज रूपमा फिर्ता लैजान सक्ने वातावरण बनाउन सरकारले सहजीकरण गरिरहेको उनले बताए।

उनले गैरआवासीय नेपालीलाई आफ्नै लगानीका साथै विदेशी लगानी पनि नेपाल भित्र्याउन आग्रह गर्दै एनआरएनए बन्ड, अफसोर बन्ड र वैकल्पिक वित्त परिचालनजस्ता अवधारणा त्यसैका लागि अघि सारिएको बताए। सरकारले थप के–कस्ता नीतिगत सहजीकरण गर्नुपर्छ भन्ने विषयमा स्पष्ट सुझाव दिन पनि उनले प्रवासी नेपालीलाई आग्रह गरे।

अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई नेपालको समृद्धिको महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै वाग्लेले देश निर्माणका लागि सबै नेपालीले साझा उद्देश्यका साथ हातेमालो गर्नुपर्ने बताए।


प्रकाशित : आइतबार, साउन १० २०८३०८:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend