शनिबार, साउन ९ गते २०८३    
शनिबार, साउन ९ २०८३

एमाले-नेकपाबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा सहमति, पाँच प्रदेशको जिम्मेवारी टुंगियो

शनिबार, साउन ९ २०८३
एमाले-नेकपाबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा सहमति, पाँच प्रदेशको जिम्मेवारी टुंगियो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ।

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्दै सुशासन, विकास र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित दुई दलले संयुक्त रूपमा प्रदेश सरकार सञ्चालन गर्ने समझदारी गरेका हुन्।

शनिबार भएको सहमतिअनुसार पाँच प्रदेशको मुख्यमन्त्रीसहित सरकारको नेतृत्व बाँडफाँट गरिएको छ। सहमतिअनुसार कोशी, वागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले)ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्नेछ।

मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग आवश्यक परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।

दुई दलले पछिल्लो समय प्रदेशहरूमा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, सरकार सञ्चालनमा आएको अन्योल तथा केही प्रदेशमा बजेटविहीन अवस्थासमेत सिर्जना भएको सन्दर्भलाई ध्यानमा राख्दै राजनीतिक स्थिरता कायम गर्न यो सहकार्य गरिएको बताएका छन्।

सहमतिअनुसार जनताको अपेक्षाअनुरूप प्रदेश सरकारलाई प्रभावकारी बनाउँदै विकास निर्माणका कामलाई गति दिने, संयुक्त सरकार गठन गर्ने तथा प्रदेश सभामा नीतिगत र विधायिकी कार्यमा समेत समन्वयात्मक ढंगले अघि बढ्ने निर्णय गरिएको छ।

उक्त सहमतिपत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।


प्रकाशित : शनिबार, साउन ९ २०८३१८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend