काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने रूपन्देही घर भएका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउमध्ये राज कुमारले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट तीन लाख रूपैयाँ र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीडितबाट १८ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट र सुरेशलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। रासस