काठमाडौं- नेपाली उपभोक्तालाई लक्षित गर्दै नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार साउन १३ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। कम्पनीले चीनका उत्पादकबाट प्रत्यक्ष वस्तु खरिद गरी आफ्नै आयात, भण्डारण र वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्याउने व्यवसायिक मोडेल अपनाएको जनाएको छ।
कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठका अनुसार चाइनाबजारले तेस्रो पक्षका विक्रेता वा आयात एजेन्टमा निर्भर नरही चीनका उत्पादकबाट वस्तु छनोट र खरिद गर्नेछ। त्यसपछि आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल ल्याई कम्पनीकै गोदाममा भण्डारण गरेर आफ्नै वितरण प्रणालीबाट ग्राहकसम्म पुर्याइनेछ।
उनका अनुसार स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापनअन्तर्गत सञ्चालन हुने भएकाले डेलिभरी समय घट्ने, लागत नियन्त्रण हुने तथा मूल्य पारदर्शी र प्रतिस्पर्धी रहने अपेक्षा गरिएको छ। बजारमा आपूर्ति शृंखलामा आउने उतारचढावका बीच पनि स्थिर सेवा दिन सकिने कम्पनीको दाबी छ।
प्रारम्भिक चरणमा प्लेटफर्ममार्फत विद्युतीय सामग्री, फेसन, लाइफस्टाइल तथा स्वास्थ्य एवं सौन्दर्यसम्बन्धी सामग्री बिक्री गरिने कम्पनीले जनाएको छ। आगामी दिनमा उत्पादनको दायरा विस्तार गर्दै जाने योजना रहेको पनि कम्पनीको भनाइ छ।
ग्राहकले इसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। कम्पनीले आफ्नै गोदाम र वितरण प्रणालीमार्फत आवश्यक मौज्दात कायम राख्दै छिटो र भरपर्दो सेवा उपलब्ध गराउने जनाएको छ।
नेपालमा डिजिटल अर्थतन्त्र विस्तार भइरहेको र चीनसँगको व्यापारिक सम्बन्ध पनि सुदृढ बन्दै गएको उल्लेख गर्दै सीईओ श्रेष्ठले चाइनाबजारले यही प्रवृत्तिलाई लक्षित गरी व्यवसाय विस्तार गर्ने योजना बनाएको बताइन्। उनका अनुसार कम्पनीले आगामी दिनमा उत्पादनको विविधता बढाउनुका साथै देशभर वितरण सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ।
चाइनाबजार साउन १३ गतेदेखि आफ्नो वेबसाइटमार्फत औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।