काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा नेपाल-चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालन भइरहेको ‘प्रोजेक्ट एड टु नेपाल’, सिभिल अस्पतालको स्तरोन्नति, अस्पतालमा क्यान्सर उपचारका लागि ‘कार-टी सेल ल्याबोरेटरी’ स्थापना तथा भूमि प्रशासनको डिजिटलीकरणलगायतका सहकार्यका विषयमा विचारविमर्श भएको थियो।
राजदूत झाङले मन्त्रालयले सरकार गठनपछिका पहिलो १०० दिनमा गरेको कार्यप्रगतिप्रति प्रशंसा गर्दै सेवा प्रवाहमा सुधार, भूमि प्रशासनको डिजिटलीकरण र सुशासन प्रवर्द्धनका लागि अघि बढाइएका पहल प्रभावकारी रहेको बताए।
मन्त्री रावलले सरकार गठनपछि पहिलो १०० दिनका प्राथमिकताका रूपमा सुधारका कार्यक्रम अघि बढाइएको उल्लेख गर्दै चीनसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेको मन्त्रालयले जनाएको छ।
सरकार गठनपछि मन्त्री रावल र नेपालका लागि चीनका राजदूत झाङबीच भएको यो पहिलो शिष्टाचार भेट हो।