काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रूपैयाँ बचत रकम फिर्ता गरेको छ। समितिले प्रतिव्यक्ति २५ हजार रूपैयाँका दरले यो रकम उपलब्ध गराएको हो।
समितिका अनुसार ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, स्वीकृतिप्राप्त चिकित्सकबाट प्रमाणित प्राणघातक रोगबाट पीडित बचतकर्ता, एकल महिला, पूर्ण अपांगता भएका व्यक्ति तथा पाँच लाखभन्दा बढी बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको छ। यस्ता बचतकर्तालाई एकपटकमा अधिकतम ५० प्रतिशतसम्म, तर ५० हजार रूपैयाँ ननाघ्ने गरी रकम उपलब्ध गराउने व्यवस्था रहेको समितिले जनाएको छ।
रकम फिर्ता पाउनेमा कान्तिपुर सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका २ जना र पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका २ जना रहेका छन्।
बचतकर्ताबाट प्राप्त निवेदन तथा मागदाबीका आधारमा निर्धारित प्राथमिकताबमोजिम बचत फिर्ता गर्ने कार्य आगामी दिनमा पनि नियमित रूपमा जारी रहने समितिले बताएको छ। सहकारी ऐन २०७४, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश तथा सरकारको १०० दिने कार्ययोजनाअनुसार बचतकर्ताको मागदाबी र प्राथमिकताका आधारमा यो रकम फिर्ता गरिएको समितिले जनाएको छ।