काठमाडौं- गत आर्थिक वर्ष २०८२/०८३ मा उद्योग विभागमा दर्ता भएका अस्पताल परियोजनामध्ये तीन अस्पतालमा मात्रै ४ अर्ब ४ करोड रूपैयाँभन्दा बढी लगानी प्रतिबद्धता भएको देखिएको छ। तीमध्ये एउटा ठूलो उद्योग र दुईवटा मझौला उद्योगका रूपमा दर्ता भएका छन्।
सबैभन्दा ठूलो परियोजना हेटौँडा उपमहानगरपालिका-११, मकवानपुरमा निर्माण हुने अस्पताल हो। यस अस्पतालमा ३ अर्ब २० करोड ५९ लाख ८६ हजार रूपैयाँ लगानी हुने अनुमान गरिएको छ। १०० शय्याको यस अस्पतालले सञ्चालनमा आएपछि २२४ जनालाई रोजगारी दिने दर्ता विवरणमा उल्लेख छ।
उद्योग विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अस्पताल तथा स्वास्थ्य सेवा क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षण बढ्दो क्रममा रहेको देखिन्छ।
कास्कीको पोखरा महानगरपालिका-११ मा पनि नयाँ अस्पताल बन्ने भएको छ। मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालि नामको अस्पताल स्थापना हुने भएको हो। ५३ करोड ६० लाख रूपैयाँ लगानी रहने यस अस्पताल ५३ शय्याको हुनेछ र यसले पनि २२४ जनालाई रोजगारी दिने लक्ष्य राखेको छ।
त्यसैगरी, काठमाडौंको, चन्द्रागिरि नगरपालिका-९ मा काठमाडौं क्यान्सर सेन्टर स्थापना हुने भएको छ। यस परियोजनामा ३० करोड रूपैयाँ लगानी हुने प्रतिबद्धता गरिएको छ भने अस्पताल सञ्चालनपछि ५० जनाले रोजगारी पाउनेछन्।