शनिबार, साउन ९ गते २०८३    
शनिबार, साउन ९ २०८३

गेउरिया खोलामा पक्की पुल बनेसँगै कृषि सडकमा सहज आवागमन

शनिबार, साउन ९ २०८३
गेउरिया खोलामा पक्की पुल बनेसँगै कृषि सडकमा सहज आवागमन

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड ३१ लाख ४६ हजार रूपैयाँको लागतमा निर्माण गरिएको उक्त पुलबाट सवारीसाधन सञ्चालन सुरु भइसकेको छ।

झापा- कमल गाउँपालिका-५ र ६ को सीमावर्ती मंगलबारे बजारपूर्व काँटा चोक नजिक रहेको गेउरिया खोलामा पक्की पुल निर्माण हुँदा वर्षायाममा स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको आवागमनको सास्ती हटेको छ।

यसअघि उक्त स्थानमा रहेको कजवे (होचो) पुलबाट आवतजावत हुँदै आएको थियो। तर बर्खायाममा खोलाको बहाव बढ्नेबित्तिकै कजवे डुबानमा पर्दा सवारीसाधन सञ्चालन बन्द हुने र स्थानीयवासीलाई दैनिक आवागमन, कृषिउपज ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत तथा बिरामीलाई अस्पताल लैजानसमेत कठिनाइ हुने गरेको थियो।

नवनिर्मित पक्की पुल सञ्चालनमा आएसँगै साविक तोपगाछी र लखनपुर क्षेत्रलाई जोड्ने कृषि सडक हुँदै दमकसम्मको यात्रा सहज, सुरक्षित र वर्षौँभरि सञ्चालनयोग्य बनेको छ। यसबाट स्थानीय बासिन्दा, किसान, व्यवसायी तथा सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। 

गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पुल निर्माणसँगै स्थानीयवासीको दशकौँदेखिको समस्या समाधान भएको बताए। 'यो पुलले साविक तोपगाछी र लखनपुर क्षेत्रलाई जोड्नुका साथै दमकसम्मको पहुँचलाई थप सहज बनाएको छ। अब वर्षायाममा आवागमन अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ', उनले भने।

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड ३१ लाख ४६ हजार रूपैयाँको लागतमा निर्माण गरिएको उक्त पुलबाट सवारीसाधन सञ्चालन सुरु भइसकेको छ। पुलको मुख्य निर्माण कार्य सम्पन्न भए पनि रंगरोगनलगायत केही अन्तिम सौन्दर्यीकरणका काम भने बाँकी रहेका छन्। रासस


प्रकाशित : शनिबार, साउन ९ २०८३११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend