शनिबार, साउन ९ गते २०८३    
शनिबार, साउन ९ २०८३

एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

शनिबार, साउन ९ २०८३
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक लाख २७ हजार ६२० वटा चिठीपत्र तथा हुलाक सामग्री आयात-निर्यात भएका छन्।

सुदूरपश्चिम- मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा रहे पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ।

हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक लाख २७ हजार ६२० वटा चिठीपत्र तथा हुलाक सामग्री आयात-निर्यात भएका छन्। तथ्यांकअनुसार हुलाक निर्देशनालयमार्फत आयात निर्याततर्फ समान ६३ हजार ८१० हुलाक सामग्री ओसारपसार गरिएको छ।

तीमध्ये सबैभन्दा धेरै ‘रजिष्ट्री’ चिठीको कारोबार भएको छ। जसमा आयात निर्याततर्फ समान ५२ हजार ६९९ रजिष्ट्री चिठी दर्ता भइ सेवा प्रवाह गरिएको सूचना अधिकारी अनिश तामाङले जानकारी दिए।

विदेशबाट आउने तथा विदेश पठाइने पत्र सेवा पनि जारी छ। यसमा समान ४७० पत्र आयात निर्यात गरिएका छन्। कार्यालयले २४ घण्टाभित्र प्रदान गर्ने द्रुत डाँक सेवा (ईएमएस) पनि सञ्चालन गरिरहेको छ। यस सेवाबाट वर्षभर दुई हजार ७२३ सामग्री आदानप्रदान गरिएका छन्।

हुलाक निर्देशनालयले सञ्चार क्षेत्रको नियमनसमेत निरन्तर गरिरहेको छ। एक वर्षमा २१ वटा अनलाइन सञ्चार माध्यम, ३७ वटा प्रेस प्रतिनिधि परिचयपत्र तथा १५ वटा एफएम रेडियोको इजाजत तथा लाइसेन्स नवीकरण गरिएको छ। राजस्व संकलनतर्फ टिकट बिक्री तथा अन्य शीर्षकबाट ६४ लाख ३१ हजार ९०३ रूपैयाँ राजस्व संकलन भएको निर्देशनालयले जनाएको छ।

हुलाक निर्देशक सिद्धराज जोशीले सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि आफूहरुले निरन्तर सेवा दिइरहेको बताए। उनले हुलाक सेवाको महत्त्व, यसको उपयोगितालगायत विषयमा प्रचार गर्ने हुलाक प्रतिनिधिलाई पुनर्ताजगी तालिम, सूचनाको हकसम्बन्धी अन्तरक्रिया, विद्यालयमा हुलाक सेवाबारे कक्षा सञ्चालन तथा हुलाक सेवा प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। 

'सरकारले हुलाक सेवाको सुधार तथा आधुनिकीकरण गर्ने नीति लिएको छ। एकसय दिने कार्यसूचीको बुँदा नं २७ मा पनि यो विषय समेटिएको थियो। सोअनुसार हामीले प्रदान गर्नुपर्ने सेवा सुरु गरिसकेका छौँ, अब आधुनिक, स्रोतसाधन सम्पन्न बनाएमा यस सेवालाई थप सशक्त बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ', निर्देशक जोशीले भने। रासस


प्रकाशित : शनिबार, साउन ९ २०८३१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend