काठमाडौं- नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूका लागि एकीकृत निर्देशनमा संशोधन गर्दै विद्युतीय वालेट प्रयोगकर्ताहरूका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी नयाँ व्यवस्था लागु गरेको छ।
राष्ट्र बैंकले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको यस निर्देशन अनुसार अब भुक्तानी सेवा प्रदायकहरूले नेपाली नागरिकको वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसार विवरण यकिन गर्नुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार भुक्तानी सेवा प्रदायक संस्थाहरूले असोज मसान्तभित्र आफ्ना वालेट प्रयोगकर्ताहरूसँग मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वःघोषणा लिनुपर्नेछ।
सोही समयावधिभित्र राष्ट्रिय परिचयपत्र लिइसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य अद्यावधिक गरिसक्नुपर्नेछ।
अहिलेसम्म राष्ट्रिय परिचयपत्र नलिएका नागरिकहरूका लागि भने परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न भुक्तानी प्रदायकहरूले हरेक महिना मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि भने राष्ट्र बैंकले केही खुकुलो नियम बनाएको छ। विदेशमै रहेर अनलाइनमार्फत वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेक अन्य आवश्यक कागजात पेश गरेर पनि वालेट खोल्न सकिनेछ।
यद्यपि त्यस्ता प्रयोगकर्ताहरू नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिएर खाता अद्यावधिक गरिसक्नुपर्नेछ।
यसका साथै आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकहरूको हकमा पनि राष्ट्रिय परिचयपत्रविना नै अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने सुविधा दिइएको छ।