काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएसँगै विकास बैंकहरूको व्यवसाय र नाफामा सुधार देखिएको छ।
यस अवधिमा कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंकले आफ्ना प्रमुख वित्तीय सूचकहरूमा सुधार गरेका छन्। खुद नाफाको आकार र व्यवसायको परिमाणका हिसाबले कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच प्रतिस्पर्धा देखिएको छ।
समीक्षा अवधिमा कामना सेवा विकास बैंकले ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। मितेरी डेभलपमेन्ट बैंकले भने १४ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सांग्रिलाको खुद नाफा ४६.६९ प्रतिशतले बढेको छ भने कामना सेवाको ३३.५१ प्रतिशत र मितेरीको ८.९८ प्रतिशतले बढेको छ।

बैंकहरूको व्यवसाय विस्तारतर्फ निक्षेप संकलन र कर्जा प्रवाहमा व्यापक वृद्धि भएको छ। कामना सेवा विकास बैंकले ६६ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने मितेरी डेभलपमेन्ट बैंकले ८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। निक्षेप र कर्जाको यो आकारले बैंकहरूको बजार हिस्सालाई अझ मजबुत बनाएको छ।
प्रतिसेयर आम्दानी र सेयरधनीको लाभांश क्षमतामा पनि सकारात्मक संकेत देखिएका छन्। सांग्रिला डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८३ पैसा र वितरणयोग्य प्रतिसेयर आम्दानी १३ रुपैयाँ १९ पैसा रहेको छ।
कामना सेवा विकास बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ७१ रुपैयाँ ०१ पैसा कायम भएको छ। यसैगरी मितेरी डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६० पैसा, प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २० पैसा र वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ।
वित्तीय जोखिम र कर्जाको गुणस्तर सूचकमा बैंकहरूको अवस्था भिन्न देखिएको छ। मितेरी डेभलपमेन्ट बैंकले आफ्नो निष्क्रिय कर्जा लाई थप घटाएर शून्य दशमलव २६ प्रतिशतमा सीमित राखेको छ।
कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा ३.७७ प्रतिशतमा रहेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा बढेर ६.८७ प्रतिशत पुगेको छ। जसले कर्जा असुलीमा केही चुनौती थपिएको देखाउँछ।
बजारमा ब्याजदर घट्दै गएको प्रभाव बैंकहरूको लागतमा पनि स्पष्ट रूपमा देखिएको छ। कामना सेवाको आधार दर ५.५३ प्रतिशत र ब्याजदर स्प्रेड ३.९८ प्रतिशतमा झरेको छ।
सांग्रिलाको आधार दर ५.५७ प्रतिशत र ब्याजदर स्प्रेड ४.१४ प्रतिशत रहेको छ भने मितेरीको आधार दर ५.९८ प्रतिशत र ब्याजदर स्प्रेड ४.३७ प्रतिशत कायम भएको छ।