शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

चीनले अघि बढायो अन्तरिक्षमै डेटा प्रशोधन गर्ने परियोजना, एक हजार उपग्रहको सञ्जाल बनाउँदै

शुक्रबार, साउन ८ २०८३
चीनले अघि बढायो अन्तरिक्षमै डेटा प्रशोधन गर्ने परियोजना, एक हजार उपग्रहको सञ्जाल बनाउँदै

चीनले यसअघि पनि अन्तरिक्षीय कम्प्युटिङका दुई ठूला परियोजना अघि बढाइसकेको छ। बेइजिङ युनिभर्सिटी अफ पोस्ट्स एन्ड टेलिकम्युनिकेसन्सको नेतृत्वमा रहेको तियानसुआन परियोजनाले आठ उपग्रह प्रक्षेपण गरिसकेको छ

काठमाडौं- एआईको प्रयोगबाट अन्तरिक्षमै भूउपग्रहबाट संकलित डेटा प्रशोधन गर्ने महत्वाकांक्षी योजना चीनले अघि बढाएको छ।‘सिङ्सु’ (स्टार हब) नाम दिइएको कम्प्युटिङ सञ्जाल परियोजनाअन्तर्गत करिब एक हजार उपग्रहको सञ्जाल निर्माण गर्ने लक्ष्य राखिएको छ।

फुदान विश्वविद्यालय र संघाई सिङ्सु तियानसुआन स्पेस टेक्नोलोजी कम्पनीले संयुक्त रूपमा विकास गरिरहेको यो प्रणालीले अन्तरिक्षमै मागअनुसार कम्प्युटिङ सेवा उपलब्ध गराउनेछ।

सरकार, अनुसन्धान संस्था तथा ऊर्जा, जलयातायात र वित्तीय क्षेत्रका कम्पनीहरूले घण्टाका आधारमा कम्प्युटिङ क्षमता भाडामा लिन सक्ने फुदान विश्वविद्यालयका अप्टिकल सञ्चारका प्राध्यापक ची नानले सांघाईमा आयोजित विश्व एआई सम्मेलनमा बताएका थिए।

अन्तरिक्षमै डेटाको प्रशोधन गर्ने मुख्य उद्देश्य रहेको यो परियोजनामा अहिलेजस्तो सबै तस्बिर र मापन पृथ्वीमा पठाउने सट्टा उपग्रहले एआई प्रयोग गरेर विश्लेषण गर्नेछन्। त्यसपछि आवश्यक नतिजामात्र पृथ्वीमा पठाइने भएकाले मौसम पूर्वानुमान, विपद् चेतावनी र अन्य सेवाहरू छिटो तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सिङ्सु सञ्जालले मौसम पूर्वानुमान, प्राकृतिक विपद्को पूर्वसूचना, बन्दरगाह तथा समुद्री यातायात निगरानी, विद्युत् प्रसारण लाइन निरीक्षण र दुर्गम क्षेत्रको अवलोकन सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। यसबाट विपद् व्यवस्थापन निकाय, मौसम विभाग र प्राकृतिक स्रोतसम्बन्धी सरकारी संस्थाले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

परियोजना तीन चरणमा विस्तार हुनेछ। पहिलो चरणमा दुई कम्प्युटिङ उपग्रह र १२ एआईयुक्त अवलोकन उपग्रह सञ्चालनमा ल्याइनेछ। त्यसपछि ५० कम्प्युटिङ र १०० अवलोकन उपग्रहसम्म विस्तार गरिनेछ। अन्तिम चरणमा एक हजार उपग्रहको पूर्ण सञ्जाल निर्माण गर्ने लक्ष्य छ।

चीनले यसअघि पनि अन्तरिक्षीय कम्प्युटिङका दुई ठूला परियोजना अघि बढाइसकेको छ। बेइजिङ युनिभर्सिटी अफ पोस्ट्स एन्ड टेलिकम्युनिकेसन्सको नेतृत्वमा रहेको तियानसुआन परियोजनाले आठ उपग्रह प्रक्षेपण गरिसकेको छ भने सरकारी स्वामित्वको झेजियाङ ल्याबको थ्री बडी कम्प्युटिङ कन्स्टेलेसन ले गत वर्ष पहिलो १२ उपग्रह अन्तरिक्षमा पठाएको थियो।

अमेरिकी कम्पनी स्पेसएक्सले भने फरक अवधारणा अघि सारेको छ। कम्पनीले अन्तरिक्षमै एआई डाटा सेन्टर सञ्चालन गर्न एक हजार होइन, १० लाखसम्म उपग्रह तैनाथ गर्न अमेरिकी नियामकसँग अनुमति मागेको छ। स्पेसएक्सका अनुसार अन्तरिक्षमा प्रशस्त सौर्य ऊर्जा उपलब्ध हुने र पृथ्वीका डेटा सेन्टरमा जस्तै ठूलो परिमाणमा पानी प्रयोग गरेर चिस्याउनुपर्ने आवश्यकता नपर्ने भएकाले यस्तो मोडेल प्रभावकारी हुनेछ।

तर चिनियाँ वैज्ञानिकहरूले चीनका लागि त्यो मोडेल आवश्यक नरहेको बताएका छन्। उनीहरूका अनुसार चीनमा एआई डेटा सेन्टर सञ्चालनका लागि विद्युत् अभाव मुख्य समस्या होइन। 

पश्चिमा अनुसन्धानकर्ताहरूले पनि स्पेसएक्सको अवधारणामाथि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार अन्तरिक्षमा विशाल कम्प्युटिङ पूर्वाधार सञ्चालन गर्न आवश्यक ऊर्जा, ताप व्यवस्थापन, प्रक्षेपण लागत र अन्ततः उपग्रहलाई सुरक्षित रूपमा कक्षाबाट हटाउने प्रक्रिया अत्यन्त जटिल र महँगो हुन सक्छ।


प्रकाशित : शुक्रबार, साउन ८ २०८३११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend