काठमाडौं- नेपाल सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वित्तीय अवस्था गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा प्रभावित भएको छ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको ९ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार उल्लेख्य दाबी भुक्तानी र घट्दो आम्दानीका कारण कम्पनी ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
गत आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म) को अवधिमा भने कम्पनीले २ अर्ब १४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। तर वर्षको सुरुवाती त्रैमासहरूमा परेको भारी दाबी भुक्तानीको दबाबका कारण ९ महिनाको समग्र वित्तीय नतिजा भने ऋणात्मक हुन पुगेको हो।
कम्पनीको खुद दाबी भुक्तानी खर्चमा भएको अत्यधिक वृद्धि नै यो नोक्सानीको मुख्य कारण बनेको छ। अघिल्लो वर्ष ५ अर्ब १७ करोड रुपैयाँ रहेको खुद दाबी भुक्तानी खर्च समीक्षा अवधिमा बढेर १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
साथै बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घट्दा लगानीबाट हुने आम्दानी ९४ करोड २६ लाख रुपैयाँबाट घटेर ४७ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। भने खुद आर्जित बीमा शुल्क पनि ७ अर्ब ११ करोड रुपैयाँबाट घटेर ५ अर्ब ८३ करोड रुपैयाँमा झरेको छ।
वित्तीय विवरणमा देखिएको यो भारी नोक्सानीका कारण कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ४३ रुपैयाँ ५१ पैसा ऋणात्मक बनेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ४ रुपैयाँ ८ पैसा धनात्मक रहेको थियो।
यसैगरी यसै नोक्सानीको प्रभावस्वरूप कम्पनीको सञ्चित जगेडा कोष ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ भने प्रतिसेयर नेटवर्थ घटेर १०९ रुपैयाँ २० पैसामा सीमित भएको छ।
१३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको समग्र वित्तीय सूचकहरूमा धक्का देखिएको छ।