शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

पश्चिम एसियामा तनाव चर्किँदा कच्चा तेल १०० डलर नाघ्यो, विश्व अर्थतन्त्रमा नयाँ महँगीको जोखिम

शुक्रबार, साउन ८ २०८३
पश्चिम एसियामा तनाव चर्किँदा कच्चा तेल १०० डलर नाघ्यो, विश्व अर्थतन्त्रमा नयाँ महँगीको जोखिम

कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेपछि विश्वव्यापी मुद्रास्फीति, ढुवानी लागत र आर्थिक वृद्धिमाथि नयाँ दबाब पर्ने चिन्ता बढेको बेलायती सञ्चारमाध्यम द गार्डियनले जनाएको छ।

काठमाडौं- पश्चिम एसियामा फेरि चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई महिनायताकै उच्च स्तरमा पुगेको छ। बेन्चमार्क कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेपछि विश्वव्यापी मुद्रास्फीति, ढुवानी लागत र आर्थिक वृद्धिमाथि नयाँ दबाब पर्ने चिन्ता बढेको बेलायती सञ्चारमाध्यम द गार्डियनले जनाएको छ।

बुधबार करिब ९५ डलर प्रतिव्यारेल रहेको तेलको मूल्य बिहीबार तीव्र रूपमा उकालो लागेर १०० डलरभन्दा माथि पुगेको हो। यमनस्थित हुथी विद्रोही समूहले लाल सागरमा दुई वटा साउदी तेल ट्यांकरमाथि मिसाइल र ड्रोन आक्रमण गरेपछि तेल आपूर्ति अवरुद्ध हुन सक्ने जोखिम बढेको छ।

यससँगै स्टेट अफ हर्मुज हुँदै हुने तेल आपूर्तिमा अमेरिका-इरानबीच बढ्दो तनावले पनि बजारमा थप अनिश्चितता सिर्जना गरेको छ। लाल सागर र होर्मुज विश्वका सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग मानिन्छन्। यी दुई मार्गमा अवरोध आए विश्व तेल व्यापार प्रत्यक्ष प्रभावित हुने भएकाले बजारमा मूल्य थप बढ्ने अनुमान गरिएको छ।

विश्लेषकहरूका अनुसार यदि द्वन्द्व थप चर्कियो भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलरसम्म पुग्न सक्ने सम्भावना रहेको छ। यस्तो अवस्था आए ऊर्जा लागत पुनः बढ्ने, विश्वव्यापी महँगी चर्किने र आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।

यसअघि अप्रिलमा इरान–अमेरिका तथा इजरायलबीचको तनाव उत्कर्षमा पुग्दा तेलको मूल्य १२६ डलर प्रतिव्यारेलसम्म पुगेको थियो। त्यसपछि युद्धविरामको अपेक्षासँगै मे महिनाको अन्त्यतिर मूल्य १०० डलरभन्दा तल झरेको थियो भने जुलाईको सुरुतिर ७१ डलरसम्म घटेको थियो। तर अमेरिका-इरानबीच भएको समझदारी भंग भएपछि पुनः तनाव बढ्दा तेलको मूल्य फेरि उकालो लागेको हो।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का कार्यकारी निर्देशक फातिह बिरोलले बजारलाई केही समयसम्म सन्तुलित राख्ने आधारहरू रहे पनि वर्तमान परिस्थितिमा ढुक्क हुने अवस्था नरहेको बताएका छन्। उनका अनुसार युद्ध थप फैलिँदै गए विश्व ऊर्जा बजारमा ठूलो झट्का लाग्न सक्छ।

सेयर बजारमा पनि दबाब

तेलको मूल्य बढेसँगै विश्वभरका वित्तीय बजारमा पनि दबाब देखिएको छ। अमेरिका र युरोपका प्रमुख सेयर बजार घटेका छन् भने प्रविधि कम्पनीहरूको सेयरमा ठूलो गिरावट आएको छ।

अमेरिकाको नास्डाक सूचकांक दुई प्रतिशतभन्दा बढी घटेको छ। टेस्लाले अपेक्षाभन्दा कमजोर नाफा सार्वजनिक गरेपछि कम्पनीको सेयर मात्रै करिब १२ प्रतिशतले घटेको छ। कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा अत्यधिक लगानी भएको भन्दै लगानीकर्तामा बढेको चिन्ताले पनि बजार प्रभावित भएको विश्लेषण गरिएको छ।

सरकारी ऋणको लागत बढ्ने संकेत

तेलको मूल्य वृद्धिसँगै पुनः महँगी बढ्ने जोखिमका कारण लगानीकर्ताले अमेरिकी, जर्मन र जापानी सरकारी ऋणपत्र बिक्री गर्न थालेका छन्। यसले ती देशहरूको सरकारी ऋण उठाउने लागत बढाएको छ।

बेलायतमा १० वर्षे सरकारी ऋणपत्रको प्रतिफल पाँच दशमलव एक प्रतिशतभन्दा माथि पुगेको छ, जुन मेयताकै उच्च स्तर हो। विश्लेषकहरूका अनुसार तेलको मूल्य लगातार बढे विश्वका केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने प्रक्रिया सुस्त बनाउन सक्ने सम्भावना छ, जसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्छ।

बजार विश्लेषक क्रिस ब्यूच्याम्पले वर्तमान अवस्था थप बिग्रिए सन् २०२५ को मार्च-अप्रिलमा देखिएको वित्तीय बजारको अस्थिरता पुनः दोहोरिन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार पश्चिम एसियामा द्वन्द्व थप फैलिने संकेतसँगै लगानीकर्ताको जोखिमप्रतिको धारणा कमजोर बन्दै गएको छ।


प्रकाशित : शुक्रबार, साउन ८ २०८३०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend