शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

विश्वकपयता अनलाइन बेटिङका २ लाख २३ हजार वेबसाइट र एप बन्द

शुक्रबार, साउन ८ २०८३
विश्वकपयता अनलाइन बेटिङका २ लाख २३ हजार वेबसाइट र एप बन्द

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाख २३ हजार ५६८ वटा वेबसाइट तथा एप बन्द गरेको जनाएको छ।

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाख २३ हजार ५६८ वटा वेबसाइट तथा एप बन्द गरेको जनाएको छ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजी एप तथा सम्बन्धित वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही कार्यसूचीको ४२औँ बुँदाअनुसार त्यसबेला नेपालमा सञ्चालित बेटिङ वेबसाइटहरू बन्द गरिएका थिए।

यद्यपि, पुराना वेबसाइट बन्द गरिए पनि नयाँ नाम र नयाँ डोमेनमार्फत पुनः सञ्चालनमा आउने क्रम रोकिएको छैन। प्राधिकरणका अनुसार यो वर्षको फिफा विश्वकप सुरु भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा यस्ता वेबसाइट तथा एप ब्लक गरिएको हो।

विश्वकपका क्रममा अनलाइन बेटिङको प्रयोग बढ्न सक्ने आकलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विशेष चासो देखाएपछि प्राधिकरणले कारबाहीलाई तीव्र बनाएको जनाएको छ। यसका लागि प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरी इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूसँग समन्वय गरेर वेबसाइटहरू ब्लक गर्ने अभियान सञ्चालन गरेको छ।

प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि आईएसपीका प्रतिनिधिलाई प्राधिकरणमै राखेर रियल–टाइम रूपमा यस्ता वेबसाइट बन्द गर्ने काम गरिएको थियो।

उनका अनुसार एक–एक गरेर वेबसाइट पहिचान गर्न कठिन हुने भएकाले विभिन्न अधिकारप्राप्त संस्था तथा निकायले पहिचान गरेका बेटिङ साइट र अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरूको यूआरएल आईएसपीसँगको सहकार्यमा ब्लक गरिन्छ।

महतोले एउटा वेबसाइट बन्द गरिए पनि त्यसको स्थानमा नयाँ वेबसाइट खुलिरहने चुनौती रहेको बताए। त्यसैले नयाँ डोमेन र वेबसाइट पहिचान गर्न 'थ्रेट इन्टेलिजेन्स टुल' प्रयोग गरी निरन्तर निगरानी (हन्टिङ) गरिने र त्यसका लागि छुट्टै प्राविधिक जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए।

प्राधिकरणले सर्वसाधारणलाई यस्ता अवैधानिक वेबसाइट वा बेटिङ प्लेटफर्मबारे जानकारी भए सम्बन्धित सूचना उपलब्ध गराएर नियन्त्रण अभियानमा सहयोग गर्न पनि आग्रह गरेको छ।


प्रकाशित : शुक्रबार, साउन ८ २०८३०६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend