बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्व माग गर्दै माइतीघरमा सुकुम्बासीको प्रदर्शन

बिहीबार , साउन ७ २०८३
वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्व माग गर्दै माइतीघरमा सुकुम्बासीको प्रदर्शन

१५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न सकेको छैन।

काठमाडौं- भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीबार पनि आन्दोलन जारी राखेका छन्।

सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिबास लगाएको भन्दै उनीहरुले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन्। सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन थप सशक्त रुपमा जारी राख्ने उनीहरुको चेतावनी छ।

सुकुम्बासी नागरिक प्रेमबहादुर तामाङले सरकारले सुकुम्बासी र हुकुम्बासी नछुट्याइकन सबैलाई एउटै डालोमा हाल्ने काम गरेको भन्दै आपत्ति जनाए।

सरकार भूमि भएका र नभएका नागरिकको छानविन गरेरमात्र सुकुम्बासी बस्ति हटाउनुपर्नेमा त्यसो नगरेको उनको भनाइ छ। उनले आफूहरुको वैकिल्पक व्यवस्थापन नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी समेत दिए।

‘जबसम्म सरकारले सुुकुम्बासी नागरिकको उचित व्यवस्थापन गरेर समस्या समाधान गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ। आन्दोलन झन चर्किंदै जान्छ। किनभने पूर्वसूचनासमेत नदिइ एक दिनको सूचनाको आधारमा सुकुम्बासीको बास उठाइदियो। कोसँग भूमि छ? कोसँग छैन? सुकुम्बासी हो कि हुकुम्बासी हो? सरकारले छानविन गर्नसक्छ' उनले भने। 

सपनामा जस्तो सुकुम्बासी नागरिकलाई तितरबितर गर्न नपाइने भन्दै उनले भने, 'भर्खरै आएर बसेको भए एउटा कुरा हुन्थ्यो। हामी त २०औँ वर्षदेखि यहाँ बसिरहेको हो नि। सरकारले हामीसँग यो विषयमा छलफल गरेर र उचित छानविन गरेर गर्नुपथ्र्यो। त्यसो नभएको हुनाले हामी आन्दोलनरत छौँ। हाम्रो उचित व्यवस्थापन नहुँदासम्म हामी आन्दोलनमा रहन्छौँ।’

सरकारले गत बैशाख १२ र १३ गते काठमाडौं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएको थियो। १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न सकेको छैन।


प्रकाशित : बिहीबार , साउन ७ २०८३१५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend