शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

इसेवा मनी ट्रान्सफरको नाफा घट्दा ऋण तथा ब्याज भुक्तानी क्षमता पनि कमजोर

शुक्रबार, साउन ८ २०८३
इसेवा मनी ट्रान्सफरको नाफा घट्दा ऋण तथा ब्याज भुक्तानी क्षमता पनि कमजोर

काठमाडौं- एफवान सफ्ट इन्टरनेशनल समूहअन्तर्गत रहेको इसेवा मनी ट्रान्सफरको व्यापारमा असर देखिन थालेको छ। बढ्दो प्रतिस्पर्धाले कम्पनीको वित्तीय सूचकमा दबाब देखिएको छ।

रेमिट्यान्स बजारमा बैंक, रेमिट्यान्स कम्पनी तथा डिजिटल वालेटबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा कम्पनीको नाफा, सेवा शुल्कबाट हुने आम्दानी तथा ऋण र ब्याज भुक्तानी क्षमतामा समेत असर परेको इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जनाएको छ।

इन्फोमेरिक्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको सञ्चालन आम्दानी पछिल्ला वर्षहरूमा दबाबमा परेको छ। आर्थिक वर्ष २०२२/२३ मा करिब २३ करोड ५० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२४/२५ मा घटेर २० करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। बजारमा बढ्दो प्रतिस्पर्धा र सेवा शुल्क दरमा आएको दबाबका कारण आम्दानी विस्तार सुस्त बनेको छ।

यससँगै कम्पनीको नाफा पनि खुम्चिएको छ। सञ्चालन नाफा आर्थिक वर्ष २०२२ मा २४.३५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२५ मा १७.८९ प्रतिशत मा झरेको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा यो २०.७६ प्रतिशत मा सुधार भए पनि अघिल्लो उच्च स्तरमा पुग्न सकेको छैन।

करपछिको नाफा पनि उल्लेखनीय रूपमा घटेको छ। आर्थिक वर्ष २०२२ मा १५.०१ प्रतिशत रहेको यो मार्जिन आर्थिक वर्ष २०२५ मा ५.३८ प्रतिशत मा सीमित भएको छ। वित्तीय खर्च बढ्नु, सञ्चालन आम्दानीमा आएको संकुचन तथा बजार विस्तारका लागि गरिएको खर्चका कारण नाफामा दबाब परेको प्रतिवेदनले जनाएको छ।

इन्फोमेरिक्सका अनुसार नेपालमा बैंक, रेमिट्यान्स कम्पनी र डिजिटल वालेट सेवा प्रदायकबीच ग्राहक आकर्षित गर्न शुल्क छुट, नगद प्रोत्साहन तथा डिजिटल सेवाको विस्तारमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ। यसले कम्पनीको व्यापार विस्तार, सेवा शुल्कबाट हुने आम्दानी र बजार हिस्सा मा थप दबाब सिर्जना गर्ने देखिएको छ। 

कम्पनीको ऋण तथा ब्याज भुक्तानी क्षमतामा पनि केही कमजोरी देखिएको छ। ऋण सेवा भुक्तानी क्षमता आर्थिक वर्ष २०२३/२४ को २.२६ गुणाबाट घटेर आर्थिक वर्ष २०२४/२५ मा १.८५ गुणा मा पुगेको छ। यसले अघिल्लो वर्षको तुलनामा ऋणको सावा र ब्याज भुक्तानी गर्ने क्षमता कमजोर भएको संकेत गरेको छ। तर पनि यो अझै स्वीकार्य सीमाभित्र रहेको इन्फोमेरिक्सले जनाएको छ।

त्यस्तै ब्याज भुक्तानी क्षमता पनि आर्थिक वर्ष २०२३/२४ को २.०५ गुणाबाट घटेर आर्थिक वर्ष २०२४/२५ मा १.८१ गुणा मा झरेको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा भने यो पुनः २.०५ गुणा मा सुधार भएको छ। प्रतिवेदनअनुसार कम्पनीले ब्याज तिर्न सक्ने क्षमता कायम राखे पनि नाफामा आएको दबाबले वित्तीय अवस्था केही कमजोर बनेको देखिन्छ।


प्रकाशित : शुक्रबार, साउन ८ २०८३११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend