बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

पाँच प्रतिशत ब्याजदरमै कर्जा दिने अवस्थामा वाणिज्य बैंकहरू

बिहीबार , साउन ७ २०८३
पाँच प्रतिशत ब्याजदरमै कर्जा दिने अवस्थामा वाणिज्य बैंकहरू

स्ट्याण्डर्ड चार्टर्ड बैंकले न्यूनतम १ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्ने जनाएको छ। यसअनुसार बैंकबाट न्यूनतम ५.२१ प्रतिशत ब्याजदरमै कर्जा लिन सकिने देखिन्छ।

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर लगातार घटेको छ। निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको लागत कम भएको र आधारदर पनि घटेकाले अब केही बैंकले ५ प्रतिशत आसपासकै ब्याजदरमा कर्जा प्रवाह गर्न सक्ने भएका छन्।

वाणिज्य बैंकहरूले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार उनीहरूको औसत आधारदर ४.९४ प्रतिशतमा झरेको छ। २०८२ असारमा औसत आधारदर ५.४१ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकको आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा ०.७५ प्रतिशत प्रतिफल जोडेर आधारदर निर्धारण गर्छन्। त्यसपछि आधारदरमा निश्चित प्रिमियम थप गरी कर्जाको ब्याजदर तय गरिन्छ।

सार्वजनिक विवरणअनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधारदर सबैभन्दा कम ४.२१ प्रतिशत रहेको छ। बैंकले न्यूनतम १ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्ने जनाएको छ। यसअनुसार उक्त बैंकबाट न्यूनतम ५.२१ प्रतिशत ब्याजदरमै कर्जा लिन सकिने देखिन्छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले अधिकतम ३.५० प्रतिशतसम्म प्रिमियम थप्न सक्ने व्यवस्था पनि गरेको छ। यसबाट योग्य ग्राहकले ५ प्रतिशत आसपासको ब्याजदरमै कर्जा पाउने अवस्था बनेको छ।

सबैभन्दा उच्च हिमालयन बैंकको आधारदर ५.३९ प्रतिशत छ। बैंकले न्यूनतम २ प्रतिशत प्रिमियम थपेर कर्जा दिने भएकाले त्यसको न्यूनतम कर्जा ब्याजदर ७.३९ प्रतिशत कायम हुनेछ।

२०८३ असारसम्म आइपुग्दा ८ वटा वाणिज्य बैंकको आधारदर ५ प्रतिशतभन्दा कममा झरेको छ। एक वर्षअघि २०८२ असारमा भने एउटा बैंकको मात्र आधारदर ५ प्रतिशतभन्दा कम थियो।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले पछिल्ला तीन महिनाको औसत आधारदरका आधारमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ। प्रत्येक त्रैमासिकमा औसत आधारदर घट्दा कर्जाको ब्याजदर स्वतः घट्ने र बढ्दा स्वतः बढ्ने व्यवस्था रहेको छ। कर्जा सम्झौतामा उल्लेख गरिएको प्रिमियम दर भने परिवर्तन गर्न पाइँदैन।

बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेकै कारण नेपाल राष्ट्र बैंकले बुधबार ८३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ बजारबाट खिचेको छ।

banks photo new.png


प्रकाशित : बिहीबार , साउन ७ २०८३१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend