बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा गिरावट, प्रतिसेयर नेटवर्थ १ सय १७ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ७ २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा गिरावट, प्रतिसेयर नेटवर्थ १ सय १७ रुपैयाँ

बैंकको खुद ब्याज आम्दानी २३.८९ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा झरेको छ भने नेट फी तथा कमिसन आम्दानीमा १ सय ७५.१७ प्रतिशतको  वृद्धि भई ५ करोड ८० लाख रुपैयाँ पुगेको छ।

काठमाडौं- पूर्वाधार विकास बैंकका रूपमा सञ्चालित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १९.९८ प्रतिशतले घटेर ९८ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ।अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानीमा आएको गिरावट र सञ्चालन खर्चको दबाबका कारण बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी मा संकुचन बेहोर्नु परेको छ।

बैंकको खुद ब्याज आम्दानी २३.८९ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा झरेको छ भने नेट फी तथा कमिसन आम्दानीमा १ सय ७५.१७ प्रतिशतको वृद्धि भई ५ करोड ८० लाख रुपैयाँ पुगेको छ।

कुल सञ्चालन आम्दानीमा आएको कमीका कारण बैंकको सञ्चालन नाफा पनि १९.८० प्रतिशतले घटेर १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकले २१ करोड २७ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गर्न सफल भएकाले नाफामा अझ ठूलो गिरावट हुनबाट जोगिएको देखिन्छ।

नाफामा संकुचन आए पनि बैंकले पूर्वाधार आयोजनाहरूमा कर्जा प्रवाह भने उच्च दरमा बढाएको छ। ग्राहक तथा पूर्वाधार आयोजनाहरूमा प्रवाहित कर्जा २५.९६ प्रतिशतले बढेर ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। 

ग्राहक निक्षेप संकलन १.९४ प्रतिशतको सामान्य वृद्धिसँगै ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँमा यथावत् छ भने रिजर्भ एन्ड सर्प्सल ९१.०७ प्रतिशतले घटेर ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कायम भएको छ। हाल बैंकको कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।

nifra.PNG

व्यावसायिक चुनौतीका बाबजुद निफ्राले कर्जाको गुणस्तर कायम राख्न भने सफलता हासिल गरेको छ। समग्र बैंकिङ क्षेत्रका लागि उदाहरणीय बन्दै बैंकको निष्क्रिय कर्जा  शून्य प्रतिशत कायम रहेको छ।

वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी  ५.७१ बाट घटेर  ४.५७ प्रतिशतमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १ सय १७ रुपैयाँ २२ पैसा कायम भएको छ। बैंकको आधार दर  ६.९७ प्रतिशतबाट घटेर ६.६७ प्रतिशतमा आएको छ भने कर्जा-निक्षेप अनुपात ७९.९२ प्रतिशत पुगेको छ।


प्रकाशित : बिहीबार , साउन ७ २०८३१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend