बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सञ्चारमन्त्रीद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल, समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता

बुधबार, साउन ६ २०८३
सञ्चारमन्त्रीद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल, समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता

त्यस्तै, सिसडोल र बञ्चरेडाँडासँग जोडिएको फोहोर व्यवस्थापनको समस्या स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणसँग प्रत्यक्षरूपमा जोडिएको विषय भएकाले त्यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारबाट सहयोग आवश्यक रहेको प्रतिनिधिको भनाइ थियो।

काठमाडौं- नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग त्यहाँको विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा तथा अपेक्षाबारे विस्तृत छलफल गरेका छन्।

ककनीका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले जनताका समस्याको जानकारी लिएर सम्बन्धित निकायसँग समन्वयमार्फत समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको उक्त छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, वडा नं १ वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष कृष्ण घिमिरे र वडा नं ३ का वडाध्यक्ष घननाथ बजगाई तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराई राई सहभागी थिए।

छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाको सचिवालयका प्रमुख स्वकीय सचिव शिव थापा, स्वकीय सचिव जीवन खरेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मधुसुदन ढकाल, रोजिन लामा, शिशिर फुयाँललगायतको उपस्थिति थियो। भेटका क्रममा ककनी गाउँपालिकाको समग्र विकास निर्माण, सडक पूर्वाधार, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, दूरसञ्चार सेवा, कृषि, गुठी जग्गाको व्यवस्थापन तथा स्थानीय नागरिकले भोगिरहेका अन्य समस्याका विषयमा विस्तृत छलफल भएको थियो।

स्थानीय जनप्रतिनिधिले वर्षायाममा बाढी-पहिरोको जोखिम बढ्दै गएको, विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका थिए। त्यस्तै, सिसडोल र बञ्चरेडाँडासँग जोडिएको फोहोर व्यवस्थापनको समस्या स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले त्यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारबाट सहयोग आवश्यक रहेको उनीहरुको भनाइ थियो।

छलफलमा फोहर व्यवस्थापनका क्रममा काठमाडौं महानगरपालिकासँग अपेक्षित समन्वय हुन नसकेको विषय पनि उठाइएको थियो। प्रभावित क्षेत्रमा फोहोरका कारण स्थानीयवासीको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले सरकारबाट आवश्यक सहयोग र प्रभावकारी समन्वयको अपेक्षा व्यक्त गरेका थिए। यो समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच थप समन्वय आवश्यक रहेको उनीहरुको धारणा थियो।

स्थानीय जनप्रतिनिधिले सडक पूर्वाधारलाई ककनीको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै विभिन्न स्थानमा सडक विस्तार तथा सडक कालोपत्र गर्ने कामलाई प्राथमिकतामा राख्न आग्रह गरे। निर्वाचनका क्रममा स्थानीयवासीले उठाएका गुनासा स्मरण गराउँदै उनीहरूले वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण नागरिकले दैनिक सास्ती भोग्नुपरेको विषयसमेत उठाएका थिए। सडक विस्तारका क्रममा गुठीको जग्गा पर्ने ठाउँको पहिचान तथा त्यसको अभिलेख अद्यावधिक तथा व्यवस्थापन गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको विषय पनि छलफलमा उठाइएको थियो।

नुवाकोटको कुलेदेखि गौरीखर्कसम्मको सडक निर्माण सम्पन्न भए त्यस क्षेत्रका नागरिकलाई उल्लेखनीय राहत पुग्ने भएकाले यसलाई प्राथमिकतामा राख्न पनि उनीहरुले आग्रह गरे। त्यस्तै तिनपिप्ले-चाउथे-गल्छी सडक योजनालाई पनि प्राथमिकतामा राख्न आग्रह गरिएको थियो।

छलफलका क्रममा ककनीको चाउथेलगायत केही क्षेत्रमा नेपाल टेलिकमका टावर प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सञ्चार सेवामा समस्या भइरहेको विषय पनि उठाइएको थियो। त्यसैगरी, किसानले समयमै रासायनिक मल नपाएको तथा मल वितरणमा अनियमितता र चुहावट हुनसक्ने आशंका रहेको भन्दै सम्बन्धित निकायबाट छानबिन र प्रभावकारी व्यवस्थापनको माग गरिएको थियो।

जनप्रतिनिधिहरूले उठाएका विषयलाई आफूले गम्भीर रुपमा लिएको बताउँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले आफू सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्वमा रहे पनि नुवाकोट क्षेत्र नम्बर १ का जनप्रतिनिधिका रूपमा नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए। उनले मल वितरणमा समस्या रहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग यसबारे जानकारी मागिने र आवश्यक समन्वय गरिने जानकारी दिए।

सञ्चारमन्त्री डा तिमिल्सिनाले वर्तमान सरकारले शासकीय सुधार, नागरिक सेवा प्रवाह र आन्तरिक प्रशासनिक सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै नागरिकका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए।

'संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले आ-आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेर प्रभावकारी ढंगले काम गर्नसके नागरिकका गुनासा छिटो सम्बोधन गर्न सकिन्छ', उनले भने, 'तीनवटै तहबीच समन्वय गरेर काम गर्न सकियो भने दोहोरोपन हट्छ, स्रोत-साधनको प्रभावकारी उपयोग हुन्छ र आवश्यकताका आधारमा योजना अघि बढाउन पनि सहज हुन्छ।'

सञ्चारमन्त्री डा तिमिल्सिनाले नुवाकोटका लागि आवश्यक बजेट व्यवस्थापनमा आफूले पर्याप्त पहल गरेको स्पष्ट पार्दै रणनीतिक महत्वका सडक आयोजनाको कामलाई तीव्रता दिन सडक विभागका सम्बन्धित अधिकारीसँग छलफल गरिसकेको जानकारी दिनुभयो। नुवाकोटका सडक आयोजना छिटो सम्पन्न गर्ने विषयमा सडक विभागसँग समन्वय भइरहेको र पूर्वाधार विकास मन्त्रालयसँग पनि निरन्तर समन्वय भइरहेको उनले बताए।

सञ्चारमन्त्री डा तिमिल्सिनाले स्थानीय तहसँगको यो छलफललाई समस्या समाधानको प्रारम्भिक चरणका रूपमा उल्लेख गर्दै संवादलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। 'यो संवादको थालनी हो, अन्त्य होइन। हामी सरोकारवाला निकायसँग नियमित छलफल गरेर स्थानीय तहका समस्या समाधानका लागि निरन्तर पहल गर्छौँ', उनले भने।

सञ्चारमन्त्री डा तिमिल्सिनाले कुनै पनि समस्या तत्काल समाधान हुने अवस्था सबैमा नहुन सक्ने उल्लेख गर्दै उपलब्ध स्रोत, साधन र अधिकारको सीमाभित्र रहेर समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे। 'समस्या समाधानका लागि कसैसँग पनि जादुको छडी छैन। तर सबै निकायले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे नागरिकका धेरै समस्या समाधान गर्न सकिन्छ। प्रयास पर्याप्त नभएको महसुस भए त्यसबारे पनि जानकारी गराउनुस्, हामी सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्नेछौँ', उनले भने।

सञ्चारमन्त्री डा तिमिल्सिनाले नागरिकका आवश्यकता र स्थानीय तहका प्राथमिकतालाई केन्द्रमा राखेर सम्बन्धित मन्त्रालय तथा निकायसँग नियमित समन्वय गर्दै नुवाकोटका विकास निर्माण र जनजीविकासँग जोडिएका विषयलाई अघि बढाइने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : बुधबार, साउन ६ २०८३१७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend